अबिरल वर्षाका कारण उत्तरी दोलखाको गौरीशंकर गुरुम्फीमा पहिरो जाँदा २ घरमा पूर्ण क्षति

खवर पाटी (खोज खबरको अभियान)

चरिकोट : बुधबार राती परेको अबिरल वर्षाका कारण उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका-५, गुरुम्फीमा पहिरो जाँदा २ घरमा पूर्ण क्षति पुगेको छ। बिहीबार बिहान करिब १ बजेतिर आएको पहिरोले सुरी गुरुम्फीस्थित ताराबहादुर खड्का र नविन केसीको घर पूर्ण क्षति भएको गौरीशंकर गाउँपालिकाका सूचना प्रविधि अफिसर प्रभास जोशीले जानकारी दिए ।

सोही वडाका मुलाबारी आसपासबाट आएको पहिरोको कारण दुई घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडा डुबाएको स्थानीय अर्जुन ओलीले जानकारी दिए । पहिरोको कारण गुरुम्फीकै अन्य घर, सुम्ना, खोलाघारीलगायतका करिब ३५ घर उच्च जोखिममा रहेको दोलखा प्रहरीले जनाएको छ । गुरुम्फीदेखि भोर्लेसम्मको करिब ४ किलोमिटर सडक अवरुद्ध भएको स्थानीय ओलीले जानकारी दिए ।

पहिरोका कारण पिउने पानीको समस्या भएको स्थानीय शिक्षक सुशिला खड्काले जानकारी दिइन्। उत्पादन सुरु हुने अवस्थाको तल्लो खारेखोला जलविद्युत् आयोजनाले सतहमा जडान गरेको पेनस्टक पाइपमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box