एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले सम्पादकीय लेखेर जवाफी कारबाहीमा कुनै पनि समय नलाग्ने चेतावनी दिएको छ । वासिङ्टनले चीनविरुद्ध प्रयोग गरेको आशंका चीनले गरेको छ । चीनविरुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेको आशंका गरिएको ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ ।
भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।
ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’
तीन दिनअघि भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको मृत्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मारिएको दावी गरेको छ । लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत(चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।
झडपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सैन्य कमाण्डर स्तरमा र दूतावासमार्फत पनि वार्ता गरिरहेका छन् । तर एकअर्काविरुद्ध दुवै देशले सीमा क्षेत्रमा सैन्य क्षमता बढाएपछि थप तनावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको विवादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि तानिरहेका छन् ।