अंगीकृत नागरिकतामा सहमति जुटाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अंगीकृत नागरिकतामा सहमति जुटाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने समितिको प्रस्तावमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाललगायतका दलहरुको सहभागिता रहेको छ । राज्य व्यवस्था समितिले सहमतिका लागि सरकारलाई ५ दिनको समय दिएको भोलिपल्ट नै प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलमा सर्वदलीय बैठक गरिएको छ ।

समितिको प्रस्तावमा सत्तारुढ नेकपा सहमत छ भने कांग्रेस र मधेसवादी दलविरुद्धमा छन् । बुधबारको समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सहमतिका लागि ५ दिनको समय माग गरेका थिए ।

संसदमा अंगीकृत नागरिकता प्राप्त गरेकी सरिता गिरीले छिमेकी मुलुक भारतको हितमा बोलेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समिति सभापति शशी श्रेष्ठलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राखेर नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरेका थिए ।

नेपाली कांग्रेसले समय तोक्न नहुने पक्षमा वकालत गर्दै आएको छ । कांग्रेसले जस्तै मधेशवादी दलले पनि जुनसुकै समयमा नागरिकता लिन सक्ने प्रावधान राख्नुपर्नेमा जोड दिएका छन् ।

लामो समयदेखि बिचाराधिन अवस्थामा रहेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको यहि अधिवेशनमा पेश गर्ने समितिको तयारी छ ।

Facebook Comments Box