‘नेपालले आफ्नो अडानलाई स्पष्ट पारेको छ, सिङ्गो राष्ट्रको यो साझा अभिमतलाई भारतीय मित्रहरूले बुझ्नुपर्छ ।’ परराष्ट्रमन्त्री ज्ञवाली

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच लामो समयदेखि हुन नसकिरहेको वार्ताको ढोका भारतले खोल्नुपर्ने बताउनुभएको छ । नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको भन्दै उहाँले असल नियतका साथ वार्ताको टेबुलमा बस्दा जटिल समस्याहरूको समाधान भइरहेका उदाहरण छन् भन्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताका लागि सरकारले भारतलाई विभिन्न समयमा पत्र पठाएको र भारतको तर्फबाट सार्थक जवाफको प्रतीक्षा गरिरहेको बताउनुभयो ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको अद्यावधिक नयाँ नक्सा प्रकाशित गरी त्यसलाई संविधान संशोधनबाट वैधानिकता दिएको वर्तमान अवस्थामा अब सीमा समस्या समाधानका लागि भारतसँगका कुन ढङ्गले पहल भइरहेको छ भन्ने सन्दर्भमा गरिएको कुराकानीमा उहाँले भन्नुभयो, ‘‘नेपालले आफ्नो अडानलाई स्पष्ट पारेको छ, सिङ्गो राष्ट्रको यो साझा अभिमतलाई भारतीय मित्रहरूले बुझ्नुपर्छ ।’’
नेपाल–भारत सीमा समस्या इतिहासले अधुरो छोडेको दायित्व भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘अहिले दुई देशका राजनीतिक नेतृत्वसामु समस्या समाधान गर्ने र एक्काइसौँ शताब्दी अनुरूपको सम्बन्ध विकास गर्ने ऐतिहासिक अवसर आएको छ ।’’ नेपाल–भारत सम्बन्धका अनेकौँ आयाम रहेको र ती घनिष्ट रूपले आबद्ध भएकाले कुनै एउटा मुद्दा विशेषले सम्बन्धको आयामलाई कमजोर पार्दैन र पार्नु हुँदैन भन्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले थप्नुभयो, ‘‘हामी भारतसँग एउटा घनिष्ट छिमेकीपन, परस्परका संवेदनशीलतालाई बुझ्ने मित्र र सुखदुःखको साथीका रूपमा सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ ।’’ गोरखापत्र

Facebook Comments Box