राष्ट्रपति निवासमा आज बेलुकी नेताहरुलाई रात्रीभोज

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज सुरु हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा आन्तरिक विवादका विभिन्न विषयमा छलफल हुनेछ ।

नेकपामा पछिल्लो समय देखिएको विवाद अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई अर्थपूर्णरुपमा लिइएको छ । यसअघिको स्थायी कमिटी बैठकमा दिवा भोज दिएकी राष्ट्रपतिले यस पटक रात्रिभोज दिन लागेको नेकपाका एक सचिवालय सदस्यले बताएका छन् ।

बेलुकी पाँच बजे राष्ट्रपति निवासमा आयोजित भोजमा विभिन्न दलका नेतालाई बोलाइएको छ । तर, नेकपा अधिकांस नेताहरुलाई निमन्त्रणा पुगेको छ । नेकपाका नेताहरुलाई मात्र भोज दिँदा आलोचना हुने भएकाले राष्ट्रपतिले विभिन्न दलका नेतालाई भनेर भोजको आयोजना गरेको निमन्त्रण प्राप्त गरेका एक नेताले जानकारी दिए ।

केहीदिन अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेटेकी राष्ट्रपति भण्डारीले सचिवालयका अन्य नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेकी छन् । उनको सक्रियतालाई नेकपाका नेताहरुले ओली पक्षलाई बलियो बनाउने रणनीतिमा लिने गरेका छन् ।

एक सचिवालय सदस्य भन्छन्, ‘राष्ट्रपति देशकै अभिभावक बन्नुपर्नेमा पार्टीको पनि बन्न सक्नु भएन । महामारीको समयमा रात्रि भोज आयोजना गर्नु हुन्थेन । उहाँले आफ्नो मात्रै नेता बोलाएको भनेर आलोचना हुने डरले सर्वदलीय भनेर निन्त्रणा गर्नु भएको छ । गुट बलियो बनाउन महामारीको समयमा भोज आयोजना गरिएको छ ।’

रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेकपाका स्थायी कमिटीसम्मका केही नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई भोजमा बोलाइए पनि जाने वा नजाने निर्णयमा नपुगेको बताएका छन् । उनले नागरिकखबरसँग भने, ‘भोज आयोजना गरिएको भन्दै निमन्त्रणा गरिएको छ । म सल्लाह गर्दैछु यस्तो अवस्थामा जाने वा नजाने भन्ने । मेरो जाने वा नजाने भन्ने टुंगो लागेको छैन ।’

यसअघिको स्थायी कमिटी बैठकको समयमा पनि भण्डारीले नेकपा नेताहरुलाई दिवा भोज दिएर पार्टीको वैचारिक तथा गुटगत व्यवहारमा परिवर्तन ल्याउने प्रयास गरेकी थिइन ।

Facebook Comments Box