चिनियाँ मिडियालाई ट्रम्प प्रशासनले दियो ठूलो झट्का

खवर पाटी (खोज खबरको अभियान)

अमेरिका : अमेरिकाले चारवटा चिनियाँ मिडिया संस्थालाई चीनको प्रचारमा तल्लीन रहेको आरोप लगाउँदै विदेशी कूटनीतिक मिसनको दर्जा दिएको छ। आरोप लागेका मिडिया ‘सीसीटीभी’, ‘चाइना न्युज सर्भिस’, ‘पिपल्स डेली’ र ‘ग्लोबल टाइम्स’ले अब आफ्नो सूचना अमेरिकी विदेश विभागलाई दिनुपर्ने भएको छ।

भारत, अमेरिका र अस्ट्रेलियाबीच तनाव चलिरहेका बेला चिनियाँ मिडियाहरूले झन् ‘आगोमा घिउ थप्ने’ काम गरेकाले ती मिडियालाई ट्रम्प प्रशासनले ठूलो झट्का दिएको छ। त्यसैले अमेरिकाले चीनका यी चारवटै मिडियालाई विदेशी कूटनीतिक मिसनको दर्जा दिने निर्णय गरेको हो। अमेरिकाले यी चारवटै मिडिया राजनीतिक नियन्त्रणमा रहेको जनाएको छ।

अमेरिकाको विदेश विभागको पूर्वी एसिया र प्रशान्त महासागर क्षेत्रका सहायक मन्त्री डेभिड स्टिलवेलले यी चारवटै चिनियाँ मिडियाले अमेरिकामा आफ्ना कर्मचारी र सम्पत्तिको सम्पूर्ण विवरण विदेश विभागमा पेस गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘यी चारै संस्था स्वतन्त्र होइनन्। चीनको कम्युनिस्ट पार्टीको तर्फबाट नियन्त्रित छन्। यिनीहरूलाई प्रोपोगान्डा फैलाउने संगठनका रूपमा पनि चिनिन्छ।’ यो कारबाहीले सूचना प्रवाहको नियन्त्रणमा पारदर्शिता आउने उनले बताए।

अमेरिका, भारतविरुद्ध मनोवैज्ञानिक युद्ध

अमेरिकाले उक्त कारबाही कस्तो समयमा गरेको छ भने यही बेला चिनियाँ मिडिया संगठनहरूले अमेरिकासँगै भारत र अस्ट्रेलियाविरुद्ध पनि मनोवैज्ञानिक युद्धको उद्घोष गरेका छन्। स्टिलवेलले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले सधंै चीनको आधिकारिक न्युज एजेन्सीलाई नियन्त्रणमा राख्छ। तर, सी जिनपिङ राष्ट्रपति बनेपछि विगत केही वर्षयता यो नियन्त्रणमामा अझै वृद्धि भएको छ।’ यी संगठनले प्रोपोगान्डा फैलाउने काम मात्रै गर्दै आएका पनि उनले आरोप लगाए।

योभन्दा पहिले अमेरिकाले चीनका पाँचवटा अन्य मिडिया संगठनलाई पनि विदेशी मिसनको दर्जा दिएको थियो। यति मात्र होइन, अमेरिकामा काम गर्दै गरेका पत्रकारको संख्या पनि सीमित गरिदिएको थियो। त्यसपछि चीनले पनि अमेरिकाका कैयौं पत्रकारलाई आफ्नो देश छाडेर जाने आदेश दिएको थियो।

Facebook Comments Box