लकडाउनबीच भित्रियो १ अर्बको विदेशी लगानी, जेठसम्म ४३ अर्ब ७१ करोडको लगानी प्रतिबद्धता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनकै बेला गत चैतदेखि जेठसम्म झन्डै एक अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । तीन महिनाको अवधिमा उत्पादनमूलक उद्योग क्षेत्रमा कुल ९५ करोड २० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार कोरोनाको त्रासले उत्पन्न विषम परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्यान्डबाट १२ वटा उद्योग स्थापना गर्न अनलाइनमार्फत सो लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यसैगरी, चालु आर्थिक वर्षको गत जेठसम्ममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बढेर दोब्बर भएको पनि विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल २१ अर्ब २४ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा यस्तो लगानी प्रतिबद्धता दोब्बरले बढेर कुल ४३ अर्ब ७१ करोड रुपैयाँ हुन पुगेको छ । विगतका केही वर्षदेखि नै मुलुकमा लगानीको वातावरण बनेकाले प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आउनु निकै राम्रो भएको विभागका प्रवक्ता विनोदकुमार खड्काले बताए ।

उनले यो उद्योग विभागमा दर्ता हुन आउनेहरूको मात्र लगानी भएको र लगानी बोर्डले स्वीकृत गर्ने छुट्टै लगानी भएको जानकारी गराए । उनले यसरी आएका प्रतिबद्धतामध्ये सबैभन्दा धेरै ऊर्जा, सूचना प्रविधि र पर्यटन क्षेत्रमा रहेको बताए । प्रत्यक्ष वैदेशिक लगानीसँगै यहाँका लगानीकर्तासितको साझेदारीमा हुने लगानीको विवरण यसमा समावेश नभएको उनले बताए ।

विभागका अनुसार अहिलेसम्म कुल एक सय ८५ वटा उद्योगमा ४३ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको छ । गत वर्षको सोही अवधिमा सानाठुला गरी दुई सय ९१ वटा उद्योगमा गरी २१ अर्ब २४ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको थियो ।

कुल प्रत्यक्ष वैदेशिक लगानी : ४३ अर्ब ७१ करोड रुपैयाँ
ऊर्जा क्षेत्र : ११ अर्ब ८२ करोड रुपैयाँ
सूचना प्रविधि : १० अर्ब ५५ करोड रुपैयाँ
पर्यटन क्षेत्र : ९ अर्ब रुपैयाँ
अन्य सेवामूलक : ८ अर्ब ७२ करोड रुपैयाँ
उत्पादनमूलक उद्योग : ३ अर्ब रुपैयाँ
कृषि तथा वनजन्य क्षेत्र : ५३ करोड रुपैयाँ

अहिले सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । ऊर्जा उद्योगमा ११ अर्ब ८२ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको हो । यसैगरी, सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आउने दोस्रो क्षेत्रमा सूचना प्रविधि रहेको छ । अहिले दुईवटा सूचना प्रविधि उद्योगमा १० अर्ब ५५ करोडको लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्रका ६९ वटा उद्योगका लागि नौ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता भएको छ । त्यसैगरी, अन्य सेवामूलक क्षेत्रका ५३ वटा उद्योगमा आठ अर्ब ७२ करोडको लगानी प्रतिबद्धता आएको छ ।

यस समीक्षा अवधिमा २२ वटा उत्पादनमूलक उद्योगमा तीन अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये कृषि तथा वनजन्य क्षेत्रका लागि पनि ५३ करोडको लगानी प्रतिबद्धता भएको छ । यस आर्थिक वर्षमा लगानी प्रतिबद्धता धेरै भए पनि न्यून जनशक्तिले मात्र रोजगारी पाउने देखिएको छ ।

जेठसम्म ४३ अर्ब ७१ करोडको लगानी प्रतिबद्धता
सबैभन्दा धेरै ऊर्जा, सूचना प्रविधि र पर्यटनमा

अहिले सूचना प्रविधिको क्षेत्रमा धेरै लगानी आए पनि कमै मात्र रोजगारी सिर्जना हुने देखिएको विभागको तथ्यांकमा उल्लेख छ । गत जेठसम्म भएको वैदेशिक लगानी प्रतिबद्धतामा करिब नौ हजार चार सय नौ जनालाई रोजगारी दिने उल्लेख छ । तर, चालु आर्थिक वर्षको सोही अवधिमा ११ हजार पाँच सय १४ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको थियो ।

कोरोना संक्रमणको तनावका बाबजुद पनि लगानी प्रतिबद्धता आउनु सकारात्मक भएको विभागले जनाएको छ । गत चैतको पहिलो साताबाट जारी रहेको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्धका कारण विदेशी लगानीकर्ता प्रत्यक्ष नेपाल आउन नसके पनि नेपालमा रहेका उनीहरूका प्रतिनिधिले वैदेशिक लगानी स्वीकृति गराएका हुन् । यसले आगामी दिनमा कोरोनाले थलिएको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन थप सहयोग पुग्ने सरोकारवालाको भनाइ छ ।

अहिलेसम्म उद्योग विभागले यसरी उद्योग दर्ता गर्न आउनेका लागि उद्योग दर्तासँगै उनीहरूको भिसा सिफारिस गरिदिने, वैदेशिक लगानी स्वीकृत गर्ने, कम्पनी दर्ता, कर दर्ता र यहाँबाट उपलब्ध हुने विभिन्न सुविधा तथा सहुलियतको व्यवस्था मिलाइदिने काम गर्दै आएको छ । यसैगरी, वैदेशिक लगानीका उद्योगीलाई उनीहरूको औद्योगिक सम्पत्ति दर्ता गरिदिने, सम्पत्ति फिर्ता प्रावधान र उद्योग दर्तापछिको अन्य प्रक्रिया मिलाइदिने काम गर्दै आएको छ । राजधानी

Facebook Comments Box