नेपालमा सलह: बुटवलस्थित नेपाली सेनाको ब्यारेकमा एकै साथ सलह जस्तै धेरै कीरा देखिए

खवर पाटी (खोज खबरको अभियान)

बुटवल, असार १३ । नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार बुटवलस्थित नेपाली सेनाको ब्यारेकमा एकै साथ सलह जस्तै धेरै कीरा देखिए ।
सेनाले कृषि विज्ञहरूलाई खबर गरेपछि त्यसबारे अनुसन्धान गरिरहेका बेला स्थानीय आतङ्कित हुने गरी बुटवलको आकासमा लाखौँको सङ्ख्यामा एकसाथ कीराहरू उड्न थाले । ती कीराहरू पश्चिम तराई र पहाडी क्षेत्रमा उडिरहेका थिए ।

रुपन्देहीका कतिपय स्थानहरूमा स्थानीयले थाल ठटाएर र हल्ला गरेर कीरा भगाएका थिए । तर बुटवललगायत कयौँ स्थानका रुख र कृषियोग्य जमिनमा कीराहरू बसे ।

प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यम नारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएको कीरा सलह नै हो । सलह कीरा भेटिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य थाल्दै तत्काल बैठक बसिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुरुमा सेनाको ब्यारेकमा ठूलो सङ्ख्यामा सलहजस्तै कीरा देखिएपछि सेनाले नियन्त्रण प्रयास गरेको बताउनुभयो ।

तस्बिर सौजन्यः दिनेशकुमार श्रेष्ठ

Facebook Comments Box