काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सचिवालयका नेताहरु मञ्चबाट तल झरेका छन् । मंगलबारको बैठकको सुरुमै नेताहरुले मञ्च छाडेका छन् ।
चौथो दिनको बैठकको सुरुवातमै नेताहरुले मञ्च छाडेर स्थायी कमिटी सदस्यकै लहरमा बस्न थालेका हुन् । त्यहाँ पनि अगाडि पट्टी अध्यक्षद्वय, वरिष्ठ नेताद्वय र उपाध्यक्ष रहेका छन् । अन्य सचिवालय सदस्य स्थायी कमिटी सदस्यकै लाइनमा बसेका छन् ।
बैठककक्षको अग्रभागमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतम लहरै बसेका छन् ।
स्थायी कमिटीका सदस्यहरु नै बस्ने लाइनको सुरुमा प्रवक्ता नारायणकाजी श्रेष्ठ बसेका छन् । त्यसपछि ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल बसेका छन् । त्यसपछि अन्य स्थायी कमिटी सदस्य छन् ।
बैठकको सुरुमा दुई अध्यक्षलाई सोफाको व्यवस्था गरेर अग्रभागमा राखिएको थियो । चर्को विरोधपछि सचिवालयका सबैजनालाई कुर्सीको व्यवस्था गरियो । मंगलबारको बैठकमा समान हैसियत कायम गर्नका लागि मञ्चको पनि विरोध भएपछि नेताहरु सुरुमै तल्लो भागमा ओर्लिएका हुन् ।