राजनीतिक संकट उत्पन्न हुने कदम नचाल्न राष्ट्रपति भण्डारीलाई अध्यक्ष प्रचण्डको आग्रह

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फेरि बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा दल विभाजन सम्बन्धि अध्यादेशको जानकारी पाएका प्रचण्ड लगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीसँग झण्डै १ घन्टा संवाद गरेर प्रचण्ड फेरि स्थायी कमिटीको बैठकमा बालुवाटार बसेका छन् । अहिले प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबारे प्रचण्डले जानकारी दिँदै छन् ।

भेटमा आफूले राजनीतिक संकट उत्पन्न हुने कदम नचाल्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेको बैठकमा प्रचण्डले जानकारी गराएका छन् ।

त्यसपछि बैठक आज अगाडि बढाउने वा के गर्ने भन्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरु दिल्लीबाट सञ्चालित भएको आरोप लगाएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ ।

Facebook Comments Box