लकडाउनको समयमा पनि राजस्व छली क्रम जारी, विभागले छली विरुद्ध आक्रामक कारबाही थाल्यो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरसको महामारी र लकडाउनको बेलामा पनि राजस्व छलीको शृंखला रोकिएको छैन । लकडाउनकै समयमा राजस्व छली गर्ने क्रममा कमी नआएपछि राजस्व अनुसन्धान विभागले छली गर्नेविरुद्ध आक्रामक कारबाही थालेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फार्म, कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरको छ ।

विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा विभिन्न कम्पनी तथा फार्मका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो माग गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध बिगो र बिगोको दोब्बर जरिमाना एवं कैद सजायको माग दाबी गर्दै सो अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व छलेको आरोपमा विभिन्न कम्पनी तथा फार्मका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो माग गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर

विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुगमन एवं विशेष सुराकीका आधारमा विभागले करोडौं रुपैयाँ राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारेको जानकारी दिए । उनले लकडाउनको अवधिमा पनि राजस्व छल्न खोज्नेहरूविरुद्ध विभाग सक्रिय भएको बताए ।

आफ्नो सक्रियता बढाएसँगै विभागले काठमाडौं महानगरपालिका–१५ बस्ने न्यु सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुलाइ ३२ करोड बिगो कायम राखेर मुद्दा दायर गरेको छ भने नक्कली भ्याटबिल प्रयोग गरि राजस्व छली गरेको आरोपमा बिकोई स्काई बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठविरुद्ध ८ करोड बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

यसैगरी, विभागले भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २ सय ८९ ग्राम सुन चोरी-पैठारी गरेको आरोपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको छ । भारतीय नागरिक शविकुमार शर्मा र पप्पु कमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–१५ बस्ने न्यु सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुले भ्याटतर्फ ८ करोड १८ लाख ४५ हजार ४८७ रुपैयाँ, आयकरतर्फ १८ करोड र ६३ लाख ८८ हजार १४७ रुपैयाँ राजस्व चुहावट गरेका थिए । यसैगरी, उनकै साझेदार सञ्जु किजु संलग्न सुप्रिम प्लास्टिक कन्सर्नले भ्याटतर्फ १ करोड ७७ लाख १७ हजार ३ सय ७४ रुपैयाँ, आयकरतर्फ ४ करोड ५५ हजार १०२ राजस्व चुहावट गरेकाले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनबमोजिम कुल ३२ करोड ६० लाख ६ हजार १ सय ११ रुपैयाँ असुल गरी बिगोको दोब्बर जरिमाना माग गर्दै मुद्दा दायर गरिएको छ ।

यसैगरी, राजस्व छलीमा संलग्न बिकोई स्काई बंगलामुखी जेभीले भ्याटतर्फ २ करोड ८३ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ र आयकरतर्फ ४ करोड ५२ लाख ७ हजार ४ सय २८ रुपैयाँ र लाभाँस करतर्फ ६५ लाख ३३ हजार ९१३ रुपैयाँ राजस्व चुहावट गरेको थियो । यसका सञ्चालक विरुद्ध बिगोको दोब्बर जरिमाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व छली नियन्त्रणमा पछिल्लो समय आक्रामक रूपमा अघि बढेको विभागले यसअघि सयौं कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरको थियो । अनुसन्धानको क्रममा अधिकांशले बिजकीकरण गर्ने र बिक्री बिलको रकम आम्दानीमा नदेखाउने गरेको भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरूले राजस्व चुहावट गर्ने क्रममा आफ्नो कम्पनीले तिर्नु नपर्ने खरिदको लागत देखाउने र मालवस्तु बिनाबिल र बिजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो । यसैगरी, मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत पाइएको थियो ।

राजस्व छलीमा संलग्न हुनेहरूले यसअघि पनि झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजक प्रयोग गर्ने, कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा नक्कली फार्म खडा गरी झुटा विवरण पेस गर्ने, अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारमा संलग्न लगायतका तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको थियो ।

२०७४ सालको २३ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित नयाँ सरकारले यस विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएपछि हालसम्म राजस्व चुहावटको कसुरमा राजस्व छली गर्ने सयांै कम्पनी तथा व्यक्ति विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिको विभागले जनाएको छ ।  राजधानी

Facebook Comments Box