भारतीय केही समाचारमूलक टेलिभिजन च्यानलको प्रसारण नेपालमा बन्द

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार २६ । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकलाई आग्रह गर्दै आएका थिए ।
डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले सामूहिक रूपमा आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।
डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ ।
भारतीय टिभी च्यानलहरूले नेपालको अद्यावधिक नक्सा प्रकाशनलगायत आन्तरिक राजनीतिक तथा कूटनीतिक मर्यादाविपरीतका विषयमा तराई मधेसका नेता समेतको नाम जोडेर भ्रमपूर्ण समाचार प्रसारण गरिरहेका छन् । प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रूपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो ।
उहाँले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताउनुभयो ।
उहाँले भारतीय च्यानलको ‘डाउनिङ’ लाइसेन्स नै खारेज गर्न सरकारले सक्ने भन्दै ‘क्लिन फिड’ लागू गर्नुअघि नै इन्टरनेटबाट अनधिकृत रूपमा आउने भिडियो कन्टेन्टहरू रोक्नुपर्ने बताउनुभयो ।
आपत्ति प्रकट

पछिल्लो समय भारतीय सञ्चार माध्यममा नेपालबारेमा आएको समाचारप्रति कुनै सत्यता नभएको भन्दै आपत्ति व्यक्त गरिएको छ । भारतीय सञ्चार माध्यमले नेपालका बारेमा भ्रमपूूर्ण समाचार सम्प्रेषण गरिरहेको र त्यसमा कुनै सत्यता नरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले त्यसबाट सचेत रहन आग्रह गर्नुभएको छ । नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार ट्विट गर्दै भारतीय सञ्चार माध्यममा नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको र त्यस खालको बकवासलाई बन्द गर्न भन्नुभएको छ ।
‘‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिकता अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौँ, विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ,’’ उहाँले स्पष्ट गर्नुुभएको छ । नेकपाका स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि भारतीय सञ्चार माध्यममा आएको समाचारप्रति आपत्ति जनाउनु भएको छ । प्रधानमन्त्री ओली, अन्य नेता तथा नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेको समाचार तथा टिप्पणी पूर्वीय सभ्यताको उपहास भएको उहाँले टिप्पणी गर्नुभएको छ ।
नेकपाका नेता प्रदीप नेपालले भारतीय ८० प्रतिशत सञ्चार माध्यमले नेपाल र नेपालीका बारेमा असभ्य, घृणित मात्र होइन, शतप्रतिशत झुठा समाचार प्रसारण गर्ने गरेको बताउनुभएको छ । पार्टी स्थायी समिति सदस्य पम्फा भुुषालले पनि यसको विरोध गर्नुभएको छ । उहाँले भारतीय मिडियाले कूटनीतिक मर्यादा र सभ्यताको सीमा नाघेको बताउनुुभएको छ । भारतीय सञ्चार माध्यममा आएको समाचारप्रति प्रेस काउन्सिल नेपालको पनि ध्या(नाकर्षण भएको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र नपरेको चर्चा गर्दै त्यो पत्रकारिता नभएर गालीकारिता भएको टिप्पणी गर्नुभएको छ । यस विषयमा भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेको तर त्यहाँको विद्युतीय सञ्चार माध्यम उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनु पर्ने कानुनी व्यवस्थाका कारण त्यहाँ समस्या रहेको बताउनुभएको छ ।

Facebook Comments Box