विश्व मार्केट छोडेर नेपाल फर्केर कृषिमा लागेका गिरी कृषिबाट सन्तुष्ट

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौंको टोखा नगरपालिका-५ का प्रदीप गिरीले २ वर्षदेखि प्यूठानमा बाख्रा र काठमाडौंको टोखामै तरकारी फार्म सञ्चालन गर्दै आएका छन् । अष्ट्रेलिया अध्ययनका लागि गएका गिरी पढाइ सकेर स्वदेश फर्किएपछि कृषिमा लागेका हुन् ।

बाख्रा र तरकारीसँगै आफ्नै फार्ममा उत्पादन भएको मासु सप्लाइ केन्द्रसमेत सञ्चालन गर्दै आएको गिरीले बताए ।

२०१० मा अष्ट्रेलियाबाट अध्ययन सकेर फर्किएका उनले ५ वर्ष कतार एयरलाइन्समा रोजगारी गरेर नेपाल आएर २०१८ बाट कृषि पेसामा लागेको बताए ।

विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गराैँ भन्ने सोच बनाएर स्वदेश फर्किएर कृषिमा लागेको गिरीले बताए ।

‘२ वर्षदेखि सनकिष्ट एग्रीकल्चर ग्रुप र ह्याकुलो मिट उत्पादन तथा सप्लाई केन्द्र सञ्चालन गरेको छु । प्यूठानमा ११ रोपनी जग्गा भाडामा लिएर बाख्रापालन र टोखामै तरकारी खेतीसमेत गर्दै आएको छु,’ उनले भने, ‘मैले अष्ट्रेलियामा कमाएको र परिवारसँग सहयोग मागेर बाख्रा पालन र तरकारी खेती गरेको हुँ । बाख्रापालन, मासु उत्पादन र कृषि फार्ममा करिब ३ करोड लगानी गरेको छु ।’

गिरीकाे फार्ममा करिब १ सय वटा बाख्रा छन् । उनको मासु उत्पादन केन्द्रबाट खसीको मासु मात्र मासिक २ हजार केजी बिक्री हुने गरेको छ ।

गिरीले कृषि फार्म र मासु उत्पादन बिक्री केन्द्रमा करिब ३५ जनालाई रोजगारी दिएको जानकारी दिए । मासिक सबै खर्च कटाएर १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

काठमाडौं, ललिपुर र अन्य स्थानमा मासु सप्लाई केन्द्र सञ्चालन गर्दै आएको गिरीले जानकारी दिए ।सरकारले कृषि पेसामा लागेका कृषकलाई बजारसँग उत्पादन भएका सामग्री बिक्री गर्न सहजीकरण गर्नुपर्ने गिरीको माग छ ।

उनले कतार एयरलाइन्समा काम गर्दा १ सय ९० देशका कामदार र १ सय २० भाषा जान्ने श्रमिकको सिफ्ट इन्चार्ज भएर काम गरेको थिए ।

विश्व मार्केट छोडेर कृषिका लागि नेपाल फर्किए 

गिरी नेपालमै बीबीए र विविएस गरेर थप अध्ययनका लागि २०१० मा अष्ट्रेयिलाबाट विजिनेशमा अध्ययन गरेर स्वदेश फर्किएका थिए ।

सन् २०१० मा अष्ट्रेलियाबाट अध्ययन सकेर फर्किएका गिरीले ५ वर्ष कतार एयरलाइन्समा रोजगारी गरी  सन् २०१८ बाट नेपाल फर्किएपछि रोजगारीभन्दा कृषि नै रोजेको गिरी बताउँछन् ।

‘अष्ट्रेलियामा विजिनेश अध्ययन गरेका विदेशी नागरिकलाई रोजगारीका धेरै सम्भावना हुन्छन्,’ उनले भने, ‘मैले अध्ययन गर्दै काम त गरे तर अष्ट्रेलियामै बस्ने सोच कहिले बनाइन । तपाई नै भन्नुहोस् अष्ट्रेलिया अध्ययनमा गएको व्यक्ति नेपाल फर्किएर कृषिमा लाग्छ होला ? तर, मैले मेरै देशमा केही गर्छु ।’ आफू पनि काम गरु अरुलाई रोजगारी दिउ भन्ने सोच बनाएर नेपाल फर्किएको उनले बताए ।

‘नेपालभित्र कृषिमा राम्रो सम्भावना छ । कृषिमा युवा जमात आउन सकेकाे छैन । सरकारले कृषिका लागि ल्याएका विषेश योजनाले युवालाई आकर्षण गर्ने सकेको छैन,’ उनले भने, ‘हामी आजको युगमा आएर पनि परम्परागत खेतीमै निर्भर छौँ । अब आधुनिक कृषितिर लाग्नु पर्छ । समय र बजारको माग अनुसार कृषिका उत्पादन गर्न लाग्नु पर्छ । अनि मात्र कृषिमा उन्नति हुन्छ । नत्र हिजो जस्तो भोलि त्यही हुँदै जान्छ ।’

नेपाललाई कृषि प्रधान देश बनाउन कृषक, खेती, चौपाया र अन्य कृषिका सामग्रीमा आधुनिकिरण भित्र्याउन अभ्यास गर्नुपर्ने गिरीको बुझाइ छ । सरकारले कृषिमा बजार सहजीकरण र उत्पादन भएको सामग्री बिक्री नहँदा निश्चित मूल्यमा खरिद गरिदिए कृषकलाई राहत हुने उनको भनाइ छ ।

अष्ट्रेलियामा धेरै राम्रा रोजगारीका अवसर पाएको भए पनि त्यहाँ नलाेभिएर स्वदेश फर्किएर कृषि पेसा रोजेको गिरी बनाउँछन् ।

‘म कृषिमा लागेर उदाहरण बन्न खोजेको होइन । हामी जस्तो युवाले कृषिमा लाग्दा आउने पुस्तालाई पनि प्रेरणा हुन्छ । म जस्तै अरू युवाहरू पनि अन्य कृषिमा आउन सक्नछन्,’ उनले भने, ‘कृषिमा रोजगारीको पनि राम्रो सम्भावना छ । कृषिमा उत्पादन र व्यवसायी बढे आर्थिकसँगै बेरोजगारी समस्या पनि समाधान हुन्छ । हाल ३० हजार कमाउन वैदेशिक रोजगारीमा गइरहेका युवालाई देशभित्रै कृषिमा रोजगारी दिन सकिन्छ ।’

सरकारले कृषिका लागि योजना मात्र नबनाएर त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाई छ । नेपालमा उत्पादन गरेको सामग्री विदेशी बजारमा बिक्री गर्न त्यति गाह्रोसमेत नरहेको गिरीले बताए ।

एकल लगानी 

गिरीले कृषि फार्म र मासु उत्पादन केन्द्र सञ्चालन गर्ने सरकार र बैंकसँग ऋण लिएका छैनन् । अष्ट्रेलियामा अध्ययन गर्दै कमाएको पैसा र परिवारसँग सहयोग गरेर कृषि पेसा सुरु गरेकाे गिरीले बताए ।

बैंकसँग ऋण माग्न जाँदा व्याजदर धेरै लिने र सरकारी अनुदानका बारेमा जानकार नभएको कारण परिवारको सहयोगमा कृषि गरिरहेको गिरीले बताए ।

‘बैंकबाट ऋण लिन धेरै सम्पति देखाउनुपर्छ । फेरि ब्याजदर पनि धेरै लिन खोज्छन् । सरकारले कृषि पेसामा लागेको कृषकलाई दिने अनुदानका बारेमा राम्रो जानकारी नै छैन । त्यही भएर जसाेतसाे आफैले लगानी जुटाएर बाख्रापालन, कृषि फार्म, मासु उत्पादन केन्द्र सञ्चालन गरिरहेको छु,’ उनले भने, ‘बैंक विक्तिय संस्थाले सस्तो ब्याजदरमा ऋण पत्याए मासु उत्पादन र कृषिमा लगानी बनाएर सञ्चालन गर्न पक्षमा छु ।  अगामी दिनमा नयाँ योजना बनाएर अझ धेरै कृषिमा काम गरु भन्न लागेको छ । अब बजारसँगै कृषि उत्पादनमा जोड गर्ने छु ।’

कृषि उद्यमी गर्न चाहने कृषकका लागि सरकारले सहजीकरण र पुलको काम गरेर ऋणमा सहुयलितदरका व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा खसीको मासु र तरकारी उत्पादन गरेर पुर्‍याउने लक्ष्य रहेको गिरीले जानकारी दिए ।

गिरीको फार्ममा मासु, विभिन्न प्रकारकाे हरियो तरकारी उत्पादन हुन्छ । गिरीको मासु सप्लाई केन्द्रमा खसी, बोका, कलिज, अष्ट्रिजलगायत आधुनिक सबै प्रकारका मासु पाइन्छ ।  शिलापत्र

Facebook Comments Box