पक्राउ लगत्तै आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न मुख्यालयले गृहमा पत्र पठायो

खवर पाटी (खोज खबरको अभियान)

पोखरा । चितवनकी एक महिलालाई बलात्कार गरेको आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए ।

‘चितवनकी एक महिलाले दिएको उजुरी आधारमा उहाँलाई नियन्त्रणमा लिएका छौं,’ एसपी श्रेष्ठले भने । पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाबारे जानकारी दिएको र त्यसपछि प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको उनले बताए । प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो । एसपी श्रेष्ठले ती महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा कार्यरत थिए । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले मंगलबार मात्रै उनको सरुवा गरेको थियो ।

उता, दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ ।

पक्राउको बेहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आइजिपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रूपमा निलम्बनमा पर्नेछन् ।

Facebook Comments Box