कास्कीको माछापुच्छरेमा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गयो

खवर पाटी (खोज खबरको अभियान)

पोखरा । कास्कीको माछापुच्छरेमा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छरे गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा कोठा घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनका ३ जना नातिनातिनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षीया रोजिना बिक, १६ का कुशल विक र १४ का समीर बिक छन् । मूल घरमा ७० वर्षीय प्रेमराज र उनकी श्रीमती सुतेकोमा नातिनातिना भने घरसँगै जोडिएको कोठीमा सुतेका थिए । गएराति देखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान साढे ५ बजे पहिरो खसेको हो । पहिरो करिब २० मिटर जति रहेको गाउँपालिका वडा ८ का वडाध्यक्ष कृष्ण दवाडीले जानकारी दिए ।

घटनापछि स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले बताए । यसअघि पोखरा महानगरपालिका वडा ८, सराङ्कोटमा गएको पहिरोमा ५ जनाको ज्यान गएको थियो ।

Facebook Comments Box