नेकपाले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बस्ने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, साउन २ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न नसकेपछि शनिबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका अनुसार शनिबार ३ बजे बालुवाटारमा सचिवालय बैठक बस्दैछ ।

दुई अध्यक्षबीच बारम्बार बैठक र वार्ता भएपनि आन्तरिक विवाद नटुङ्गेपछि त्यसलाई सल्टाउन सचिवालय बैठकमा छलफल हुनलागेको उहाँले जानकारी दिनुभयो । शुक्रबार आव्हान गरिएको बिहान ११ बजेको बैठक साँझ ४ बजेका लागि सारिएको थियो । तर विवादमा सहमति नबनेपछि आइतबार ३ बजेका लागि बैठक सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गर्दैआउनुभएको छ । तर प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने कुनै कारण नभएको भन्दै अस्वीकार गर्दैआउनुभएको छ । पार्टीको आन्तरिक विवाद चुलिँदै गएपछि स्थायी कमिटी बैठक पनि पटकपटक सर्दैगएको छ ।

शनिबार बस्ने सचिवालय बैठकमा विवादबारे खुला ढङ्गले छलफल हुने नेता खनालले बताउनुभयो । दुवै अध्यक्ष आफ्नो अडानबाट पछि नहट्ने अवस्था सिर्जना भएपछि सो विषय सचिवालय, स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठकसम्म पुग्नसक्ने खनालले बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार सहमतिको प्रयास गर्न भन्दै शनिबार ३ बजे सचिवालय बैठकका लागि महासचिव विष्णु पौडेलले सूचना जारी गर्नुभएको छ ।

Facebook Comments Box