सीमा सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो ।

गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो ।

राति करिब ५० जनाको समूहमा आएका तस्करहरूले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्रले गोली चलाएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । सो क्रममा झडप हुँदा सशस्त्रका दुई जवान घाइते भएका थिए ।

सीमा नाका बन्द हुँदा पटक पटक आक्रमण प्रयास
लकडाउनमै ठोरी र कञ्चनपुरमा सडक निर्माणमा अवरोध

त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भएको थियो । सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।

घटनापछि स्थिति नियन्त्रणमा लिन शनिबारसमेत सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो । घरेलु हतियारसहित आएका उनीहरू त्यसपछि भागेका थिए । झापामा सीमामा खटिएका सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण हुँदै गएपछि दुवै देशका सुरक्षा निकायका अधिकारीबीच अवस्था साम्य बनाउने विषयमा पटक पटक छलफल हुँदै आएको छ ।

झापाकै कचनकवल घेराबारीमा ३ जेठमा सुरक्षा पोस्टमा भारतीयहरूले आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । दुई सय बढीको संख्यामा आएका भारतीयले नेपालतर्फ खेती गरेका कारण आउन पाउनुपर्ने भन्दै सुरक्षा पोस्टमै आक्रमण गर्न खोजेका थिए ।

यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीनजिकै रहेको सीमा क्षेत्रमा समेत २२ वैशाखमा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएको थियो । सीमास्तम्भ १३१ नजिकबाट भारतीयहरू नेपाल प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको थियो । वैशाख अन्तिम सातासमेत कचनकवल गाउँपालिकामा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो ।

ठोरीको सीता गुफामा तनाव, नेपालीले बनाएको सडक भत्काइयो
पर्साको ठोरीस्थित सीता गुफाभन्दा आठ मिटर पर डाँडामा रहेको नेपाल–भारत सीमास्तम्भ ४३६ उखेलेर फ्याँकिएपछि शनिबार दिनभर ठोरीको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा भगवान् रामको जन्म भएको भन्दै अभिव्यक्ति दिएपछि सो क्षेत्रमा भरतीय सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ छन् । सीमा स्तम्भ ढालिएकै स्थाननजिकै भारतीय सुरक्षाकर्मीले अहिले विवाद समाधानपछि अस्थायी सुरक्षा पोस्ट नै खडा गरेर बसेका छन् ।

शनिबार दिउँसो उखेलिएको सीमास्तम्भ राति दुवै देशका सुरक्षाकर्मी र जनप्रतिनिधिको रोहबरमा गाडिएपछि स्थिति सामान्य बनेको स्थानीय बुद्धिजीवी प्रकाश खनालले जानकारी दिए ।

त्यसयता नेपालतर्फ पर्ने सीता गुफामा स्थानीयलाई प्रवेशमा रोक लगाइएको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका इन्सपेक्टर दीपक दाहालले जानकारी दिए ।

शनिबार दिउँसो १२ बजेसम्म सोही स्थानमा रहेको सीमास्तभ दिउँसो २ बजेतिर उखेलिएको अवस्थामा भेटिएको थियो । त्यसबाट आक्रोशित बनेका स्थानीय बासिन्दाले भारतीय पक्षले सीमा स्तम्भ उखेलेको भन्दै सीमा क्षेत्रमा गएर नाराबाजी गरेका थिए ।

त्यसअघि समेत ठोरीमा लकडाउनकै समयमा नेपाली पक्षले हुलाकी सडकअन्तर्गत ठुटेखोला पुल जोड्न बनाइएको सडक भारतीय पक्षले भत्काइदिएका थिए । सो क्रममा नेपाली पक्षले भारतीय सुरक्षाकर्मीसहित भारतीय नागरिकलाई नाराबाजी गर्दै लखेटेका थिए ।

सुनसरीमा मोटरसाइकल छाडेरै भागे तस्कर
सुनसरीको सीमा क्षेत्रमा समेत पटक पटक तस्कर समूहले सशस्त्र प्रहरीलाई निसाना बनाएको छ । तस्कर समूहसँग लकडाउनकै अवधिमा सुनसरीमा सशस्त्र प्रहरीको दुई पटक झडप भइसकेको छ ।

१ साउनमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण प्रयास गरेका थिए । पानीट्यांकी नजकैको क्षेत्रबाट मोटरसाइकलमा आएका उनीहरूले आक्रमण गर्दा दुवैतर्फबाट गोली हानाहान भएको थियो ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव घाइते भएका थिए भने घटनास्थलबाट पेस्तोल र ६ राउन्ड गोलीसहित दुईवटा म्यागजिन र दुईवटा भारतीय नम्बरका मोटरसाइकल बरामद गरिएको थियो ।

सो घटना भएको भोलिपल्ट (२ साउनमा) समेत हरिनगर गाउँपालिका–७ घुस्कीमा अवैध सामान ओसारपसारमा संलग्न तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा सशस्त्र प्रहरीतर्फबाट प्रतिकार हुँदा हरिनगर–७ का सुवाद अन्सारी घाइते भएका थिए भने सशस्त्र प्रहरीतर्फ जवान जीवराज बिसंखे घाइते भएका थिए ।

सर्लाहीमा प्रहरीको हतियार खोस्ने प्रयास
यसैगरी, गत ३० जेठमा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुरस्थित सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास हुँदा सशस्त्र प्रहरीले करिब २० राउन्ड हवाई फायर गरेको थियो ।

सो क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सशस्त्र प्रहरीतर्फ तीन जना घाइते भएका थिए । सो घटनामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको हतियार खेस्ने प्रयास भएको थियो ।

यस्तै, सर्लाहीको फेनहारामा समेत भारतीय नागरिकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध रूपमा हुने सामान ओसारपसार रोकेको भन्दै भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

नवलपरासीमा ६ प्रहरी घाइते
यसैगरी, गत २५ जेठमा नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बेलहियामा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । २ सय बढीको समूहमा आएका भारतीय नागरिकको आक्रमणमा परेर सोही दिन ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए । आफ्ना सुरक्षाकर्मी घाइते हुने अवस्था आएपछि सशस्त्रले चार राउन्ड हवाई फायर खोलेको थियो ।

कञ्चनपुरमा सडक बनाउन अवरोध
कञ्चनपुर २१ असारमा सीमा क्षेत्रमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षबाट अवरोध भएको थियो । बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा हातहतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणाधीन सडक दशगजा क्षेत्रमा पर्ने भन्दै अवरोध गरेका थिए ।

नेपाली भूभागमै राजमार्ग निर्माण भइरहेको भए पनि भारतीय सुरक्षाकर्मीले दशगजा भन्दै विवाद झिकेपछि स्थानीयले प्रतिकार गरेपछि निर्माण सुचारु भएको थियो ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो हुँदा तथा केही स्थानमा गैरकानुनी कामका लागि भारतीयहरू प्रवेश गर्न लाग्दा रोक्ने क्रममा झडपको प्रयास भएको बताए ।

‘केही स्थानमा गैरकानुनी कामका लागि जबर्जस्ती आउन खोज्दा असहज अवस्था बनेको देखिन्छ भने केही स्थानमा नाता सम्बन्ध तथा खेतीपातीका कारण आउन लाग्दा समेत स्थिति नियन्त्रणमा लिन गाह्रो परेको अवस्था छ,’ सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

तर, घटनालाई सामान्य बनाउनेतर्फ भने सशस्त्र प्रहरीले तत्कालै स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्ने गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले दिएको नीति सशस्त्र प्रहरीले सीमा सुरक्षाका सवालमा पूर्ण रूपमा पालना गर्दै अघि बढिरहेको समेत जनाए । प्रवक्ता श्रेष्ठले सरकारले तोकेको निश्चित स्थानबाट भन्दा अन्यत्रबाट आवतजावत गर्न नपाइने बताए ।

सशस्त्र प्रहरीले हाल भारततर्फको दक्षिण र चीनतर्फको उत्तरी सीमा नाकामा गरी १ सय २९ स्थानमा बिओपी राखेको छ । त्यसबाहेक कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सशस्त्रका १ हजार २ सय १२ अस्थायी चेक पोस्ट राखिएका छन् । – राजधानी

Facebook Comments Box