ओखलढुङ्गाका २२ वटा बस्ती पहिरोको उच्च जोखिममा

खवर पाटी (खोज खबरको अभियान)

ओखलढुङ्गा, साउन १२ । सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा १० वर्षअघि सुरु भएको पहिरोले स्थानीय गोविन्दप्रसाद पौडेल विस्थापित हुने अवस्थामा पुग्नुभएको छ ।
घरैसम्म पहिरो आइपुगेपछि दुई वर्षअघि मात्र केहीमाथि घर बनाएर सरेको पौडेल परिवारलाई अझै पनि पहिरोले पछ््याउन छाडेको छैन ।
सल्लेरीमा उहाँको मात्रै होइन स्थानीय भीमबहादुर गुरुङ, रामबहादुर गुरुङलगायत ४० परिवार र एक विद्यालयसमेत तिलखोरिया पहिरोको जोखिममा छन् । एक सय रोपनीभन्दा बढी खेतबारी यो पहिरोले बगाइसकेको छ ।
नियन्त्रणका लागि प्रयास भए पनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा संभव नभएको सिद्धिचरण नगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम तामाङ बताउनुभयो  ।
पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट हरेक वर्ष योजना परे पनि काम नभइ बजेट दुरुपयोग हुने गरेको स्थानीयको गुनासो छ ।
यस्तै, मोलुङ गाउँपालिका वडा नं २ वरुणेश्वरस्थित डाँडागाउँमा पहिरोको चपेटामा परेका स्थानीयको अवस्था पनि उस्तै छ । डाडाँ गाउँकी ६८ वर्षीय फुटी शेर्पा वर्षायाम सुरु भएपछि पहिरोको डरले रातभर जागै बस्ने गरेको बताउनुभयो । गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहनु भएकी उहाँ आठ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित हुनु भएको हो ।
२०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब तीन सय रोपनी जमिन बगाइसकेको छ । आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिङ्गो गाउँ नै धाँजा फाँटेको छ ।
ओखलढुङ्गा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिए पनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार ओखलढुङ्गाका २२ वटा बस्ती पहिरोको उच्च जोखिममा छन् ।
मध्यम जोखिममा १४ वटा र जोखिममा तीन वटा बस्ती छन् । जिल्लाभित्र असंख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भए पनि मानव नियन्त्रणबाहिर रहेका ठूला पहिरोले दर्जनौ बस्ती जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो  ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद्को अवस्थाको आँकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको र जिल्ला तथा स्थानीय तहबाट यस्ता पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने उहाँको भनाई छ ।
तत्कालीन जिल्ला भू संरक्षण कार्यालय ओखलढुङ्गाले तयार गरेको अभिलेख अनुसार जिल्लाभित्र रहेका १४६ वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन् । २०७२ सालको भूकम्पपछि पहिरोको संख्या थपिएको छ । भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, गाम्नाङटार, खिजीदेम्वाको रगनी लगायतका गाउँ पहिरोको चपेटामा परेका छन् ।
बस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका बस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाले जनाएको छ ।
हालसम्म पहिरोले विस्थापित भएका ८४ परिवारको स्थानान्तरण प्रक्रिया सकिएको छ । भूकम्पपछिको पहिरोले विस्थापित भएका बस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेका छैनन् । पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायतका स्थानमा रहेका ठूला पहिरोले पाँच सयभन्दा बढी हेक्टर जमिन बगाइसकेको छ ।

Facebook Comments Box