काठमाडौं । नेपालबाट विभिन्न देशमा निर्यात हुने वस्तुको कारोबार घटेसँगै अहिले मुलुकको व्यापार घाटा चुलिएको छ । अहिले वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालले वार्षिक खर्बौं रुपैयाँबराबरको व्यापार घाटा बेहोर्दै आएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६-७७ मा नेपालले कुल १२ खर्ब ९२ अर्ब ९५ करोड ५७ लाख ५७ हजार रुपैयाँबराबरको वैदेशिक व्यापारमा ११ खर्ब ६४ करोड २३ लाख ४८ हजार रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको छ । यसैगरी, गत आर्थिक वर्षमा नेपालले ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको आयात गर्दा ९६ अर्ब १५ करोड ६७ लाख रुपैयाँबराबरको निर्यात गरेको छ ।
विभागको तथ्यांकअनुसार अधिकांश वस्तुको आयात त्यस्ता वस्तुको निर्यातको तुलनामा निकै बढिरहेको छ । सबैभन्दा बढी आयात हुने इन्धन, सवारीसाधनजस्ता वस्तुको नेपालबाट निर्यात भने शून्य रहेको छ । जसकारण नेपालको व्यापार घाटा वार्षिक रूपले बढ्दो क्रममा रहेको छ ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै जारी गरेको लकडाउनकै समयमा भारत तथा तेस्रो मुलुकबाट मात्रै पौने ३ खर्बबराबरको सामान आयात भएको छ । सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै गत ११ चैतबाट लकडाउन गरेको थियो । त्यसबेला केही स्वास्थ्य सामग्री ल्याउने र विदेशमा अलपत्र परेका नेपाली नागरिकको हवाई उद्धार गर्ने काम मात्र भएको थियो । अन्य कारोबार प्रायः ठप्प जस्तै भएको थियो ।
गत १ चैतदेखि ३१ असारसम्म ५ महिनाको अवधिमा नेपालले झन्डै ३ खर्ब रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुकबाट आयात गरेको छ ।
अहिले लकडाउन खुला भइसकेको अवस्था छ । तर लकडाउन ११ चैतबाट जारी भए पनि गत १ चैतदेखि ३१ असारसम्म ५ महिनाको अवधिमा नेपालले झन्डै ३ खर्ब रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुकबाट आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को आयात तथा निर्यात विवरण अनुसार लकडानको अवधिमा मात्रै २ खर्ब ७२ अर्ब ५५ करोड ६४ लाख १८ हजार रुपैयाँबराबरको सामान आयात भएको छ । योसँगै गत आवमा नेपालले कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको सामान आयात गरेको छ । गत आवको साउनदेखि फागुनसम्म मात्रै नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँबराबरको सामान आयात गरेको थियो ।
अझै केही वस्तुको व्यापारमा भने नेपालले नाफा कमाइरहेको अवस्था छ । भन्सार विभागका अनुसार विभिन्न नौ प्रकारका वस्तुको व्यापारमा आयातभन्दा निर्यातको अंश बढी रहेको पाइएको छ । विभिन्न किसिमका तरकारी, फलफूल तथा अन्य बोटबिरुवाको निर्यात आयातभन्दा बढी रहेको छ । गत आर्थिक वर्षमा यस्ता वस्तुको १ अर्ब ४४ करोड ४ लाख रुपैयाँबराबरको आयात भएकोमा ३ अर्ब ४० करोड ७२ लाख रुपैयाँबराबरको निर्यात हुँदा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँबराबरको व्यापार नाफा भएको छ ।
यसैगरी, गत आवको एक वर्षको अवधिमा छालाजन्य वस्तुको १७ करोड ८४ लाख रुपैयाँबराबरको निर्यात भएको छ भने यसमा व्यापार नाफा ११ करोड ५१ लाख रुपैयाँ बराबर छ । तयारी कपडा, फाइबर, धागो, कागज वा धागोबाट बनेका कपडाको निर्यात पनि आयातको तुलनामा बढी देखिएको छ ।
गत आर्थिक वर्ष २ अर्ब ९० करोड ४१ लाख रुपैयाँबराबरको यस्ता वस्तु आयात भएकोमा ३ अर्ब ४४ करोड ३० लाख रुपैयाँबराबरको निर्यात भएर ५३ करोड ८९ लाख रुपैयाँबराबरको व्यापार नाफा भएको छ । त्यसैगरी, हातले बुनेका कपडा पनि नेपालबाट निर्यात हुने गरेको छ । २ अर्ब १९ करोड ५८ लाख रुपैयाँबराबरको आयात भएका यस्ता वस्तु २ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ निर्यात भएको छ ।
यस अवधिमा यी वस्तुमा ६३ करोड ९५ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिन्छ । धागो, डोरीलगायत वस्तुमा १ अर्ब २ करोड १९ लाख रुपैयाँबराबरको व्यापार नाफा छ । त्यसैगरी, कार्पेट र गलैंचामा ५ अर्ब ६४ करोड ८० लाख रुपैयाँबराबर व्यापार नाफा छ । अघिल्लो आर्थिक वर्ष ६७ करोड ३७ लाख रुपैयाँबराबरको कार्पेट तथा गलैंचा आयात भएकोमा ६ अर्ब ३२ करोड १८ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।
सिसा र चम्किला धातु तथा वस्तुमा पनि व्यापार नाफा छ । यस्ता वस्तुको १२ करोड ६१ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिन्छ । त्यस्तै वाद्यवादनका यन्त्र १४ करोड ७२ लाख रुपैयाँबराबरको आयात भएकोमा ३७ करोड ७८ लाख रुपैयाँबराबरको निर्यात हुँदा २२ करोड ८६ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिन्छ ।
सो अवधिमा ४२ लाख रुपैयाँबराबरको हस्तकताका सामग्री विदेशबाट नेपाल आएका छन् भने ५६ करोड ९० लाख रुपैयाँबराबरका सामान निर्यात भएर ५६ करोड ४८ लाख रुपैयाँबराबरको व्यापार नाफा भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले गरेको वैदेशिक व्यापारमा विभिन्न २३ वटा मुलुकसँगको व्यापार नाफा रहेको अवस्था छ । यो नेपालका लागि निकै उपलब्धिमूलक भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । राजधानी