प्रहरी प्रधान कार्यालयमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयमा आइतबार ४ र मंगलबार २७ गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । प्रधान कार्यालयमा कार्यरत एसएसपी कुवेर कडायतले आइतबार चार तथा मंगलबार थप २७ जनामा गरी हेडक्वार्टरभित्र ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘आइतबार चार तथा मंगलबार थप २७ जनामा गरी हेडक्वार्टरभित्र ३१ जनामा संक्रमण पुष्टि भएको छ, संक्रमित सबैलाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु पठाइएको छ,’ प्रधान कार्यालयमा कार्यरत एसएसपी कडायतले राजधानीसँग भने ।

कहाँ कति प्रहरी संक्रमित ?
उपत्यकामा ४० जना
प्रदेश १ मा २७ जना
प्रदेश २ मा ३५ जना
गण्डकी प्रदेशमा २९ जना
प्रदेश ५ मा १५ जना
कर्णाली प्रदेशमा २७ जना
सुदूरपश्चिम प्रदेशमा १२ जना

उनका अनुसार प्रहरीका जुनियर अफिसर तथा कार्यालय सहयोगीहरूमा संक्रमण देखिएको हो । गत आइतबार केही प्रहरी जवानलाई ज्वरो आएपछि स्वास्थ्य जाँचका लागि प्रहरी अस्पताल पठाइएकामा चेकजाँचका क्रममा संक्रमण देखिएको थियो ।

त्यसपछि प्रधान कार्यालयले उनीहरूको रिपोर्ट भेरिफाइका लागि टेकुस्थित अस्पताल पठाएको थियो । त्यसबखत चार जनामा संक्रमण पुष्टि भएको थियो भने उनीहरूसँग सम्पर्कमा पुगेकाहरूको समेत परीक्षण गरिएको थियो । सो क्रममा मंगलबार २७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभर गरी १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने ९९ जना उपचारपछि निको भएर नियमित काममा फर्किएका छन् । हालसम्म संक्रमण देखिएकामध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा कार्यरत प्रहरीहरू छन् । उपत्यकामा मंगलबारसम्म हेडक्वार्टरभित्र समेतका गरी ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, प्रदेश १ का २७ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा मंगलबारसम्म संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या बढ्न थालेपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।  राजधानी

Facebook Comments Box