भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता

अन्तराष्ट्रिय

भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए ।

एक प्रहरी अधिकारीले भन्नुभयो,“आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।”

प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले परम्परागत रूपमा बनाइएका डुङ्गाहरूलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्छन् ।

Facebook Comments Box