हिन्दू धर्म संस्कृतिमा जनैपूर्णिमा एक महत्वपूर्णको चाड हो – विश्वनाथ खरेल

खवर पाटी (खोज खबरको अभियान)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ । ऋषिहरूको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी भनिन्छ । हरेक चाडवाडको आआफ्नै महत्व र सन्दर्भ हुन्छ । कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रीय पुरुषले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पत्र गरी गुरूपुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । तर, मलमास परेको वर्षमा मात्र भाद्र शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यसै दिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकाले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राह्मणद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन । तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्य पुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।

‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।’ यसको अर्थ हो जुठो सुतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ । जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रूपमा र शुद्ध जनै बदल्ने दिनको रूपमासमेत लिइन्छ ।

समाजमा विद्यमान रहेका कुसंस्कार हटाई सनातन धर्मका राम्रा संस्कारलाई अगाल्नु समयसापेक्ष हुन्छ

श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात् ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन् । बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँध्छिन् र ब्राह्मण अन्य वर्गका मानिसलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात् दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्रण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यही नै छ ।

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्व पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुशरण गर्न हामी सक्छांै वा सक्दैनौं ? यौटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइ छ्यापछ्याप्ति छन् ।

नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत् देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानव पराजित भई देवता सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।

अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो)लाई दुई बेग्लाबेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै लगाउनुअगाडि पढ्ने संस्कृति मन्त्र ‘येन बद्धो बलिराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ हो । यसरी चाडपर्वको रौनक निकै बढेको छ ।

जनैपूर्णिमा एक महत्वपूर्णको चाड हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ, जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछूत र रूढिवादीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुन जाने छ । यस अर्थमा विश्वको एक मात्र हिन्दू राष्ट्रका रूपमा रहेको नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू रहेका छन् । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुन जानेछ । यस कारणले गर्दा हिन्दू धर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाडपर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुई मत नहोला ।    – विश्वनाथ खरेल / राजधानी

Facebook Comments Box