पशुपति आर्यघाटबाटै शव नियन्त्रणमा, कान्छा छोरामाथि हत्याको आरोप

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले मादकपदार्थ सेवन गरी बाबु रामकृष्णलाई कुटपिट गरेका थिए । सो क्रममा लडेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बेहोस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पु-याइएको थियो ।

– पशुपति आर्यघाटबाटै शव नियन्त्रणमा, कान्छा छोरामाथि हत्याको आरोप

तर, रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घाइते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान निधन भएको थियो ।

कुटपिटपछि घाइते भएका बुबा बिहानसम्म नै बेहोस भएपछि सन्तोषले बुबा अनियन्त्रित भई लडेर घाइते भएको भन्दै आफन्तलाई खबर गरेका थिए । तर, आफन्तहरूले भने लडेर नभई गम्भीर चोट भएकाले हत्याकै नियतले आक्रमण भएको आशंका गरेका थिए । सो क्रममा छाउनीमा उपचारमा संलग्न चिकित्सकले समेत टाउकामा गम्भीर चोट रहेको बताएका थिए ।

डिएसपी तामाङले अस्पतालसँगको सोधपुछका क्रममा टाउकामा गम्भीर चोट रहेको र आफन्तले समेत हत्याकै नियतले आक्रमण गरेको भन्दै प्रहरीमा जानकारी गराएपछि पशुपति आर्यघाटबाट शव नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीले हत्याको आशंकामा रामकृष्णका कान्छा छोरा सन्तोष नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।    राजधानी

Facebook Comments Box