राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, साउन २० । राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा नियमावली अनुसार समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था छ । दुई वर्ष पूरा भएसँगै समिति पुनः गठित भएका हुन् । शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति पुनः गठन गर्नुभएको थियो । शुक्रबार समितिहरूको दुई वर्षे कार्यकाल पूरा भएको थियो ।
प्रकाशित निर्वाचन कार्यतालिका अनुसार साउन २२ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । मनोनयन राष्ट्रिय सभा सचिवको कार्यकक्ष सिंहदरबारमै हुनेछ । दर्ता भएको उम्मेदवारको अन्तिम नामावली २२ गते नै अपराह्न सार्वजनिक हुनेछ ।

पुरानै दोहोर्याउने तयारी
राष्ट्रिय सभामा चार विषयगत समिति छन् । यसअघि चारमध्ये तीनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सभापति चयन भएका थिए । एक समिति सभापति विपक्षी दलले पाएको थियो । हाल पनि उक्त समीकरण कायमै रहने दलहरूबीचमा करिब सहमति बनिसकेको छ ।
नेकपा राष्ट्रिय सभा संसदीय दलका मुख्य सचेतक खिमलाल भट्टराईले यसअघिको पोजिसनमा सबै सभापतिलाई यथावत् राख्ने दलमा सहमति भइसकेको बताउनुभयो । उहाँले काँंग्रेसलाई एक सभापति दिने विषयमा पनि समझदारी भइसकेको जानकारी दिनुुभयो । उहाँले पुरानै सभापतिहरूलाई नै दोहो¥याउँ भन्ने समझदारी पार्टीमा बनेको छ । उहाँहरू दोहोरिनुहुन्छ । औपचारिक प्रक्रिया त अब समितिले नै अघि बढाउँछ भन्नुभयो ।
यसअघि तीन सभापति नेकपाले लिएको थियो । जसमा विधायन व्यवस्थापन समिति सभापति पर्शुराममेघी गुरुङ हुनुहुन्थ्यो । यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी हुनुहुन्थ्यो भने राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) रहनुभएको थियो । विपक्षी दलले पाएको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट हुनुहुन्थ्यो ।  गोरखापत्र

Facebook Comments Box