स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ साउन अपराह्नको नियमित ‘कोभिड–१९’ प्रेस ब्रिफिङअनुसार पछिल्लो २४ घण्टामा मुलुकमा २ सय ४६ जना संक्रमित थपिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ जना संक्रमित थपिए । यही अवधिमा मुलुकभरबाट १ सय ११ जना कोरोनालाई पराजित गर्दै अस्पतालबाट डिस्चार्ज भए । योसँगै मुलुकमा हालसम्म कुल १४ हजार ६ सय ३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सो अवधिमा ८ हजार ८ सय ६१ को पीसीआर परीक्षण गरिएको थियो । यसै अवधिमा एक जनाको कोरोनाका कारण मृत्यु भएको र यससँगै मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ । सोही क्रममा प्रवक्ता गौतमले मन्त्रालयको यस अघिको आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्ने निर्देशन पुनः स्मरण गराए । मन्त्रालयका तर्फबाट प्रवक्तामार्फत कोरोना भाइरसको संक्रमण रहे-नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पताललाई निर्देशन दिइएको हो ।
विश्वमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण निरन्तर बढ्दो छ । संक्रमितको संख्यासँगै मृतकको संख्या पनि निरन्तर बढिरहेको छ । कोरोनाले विश्वका २ सय १५ मुलुकलाई प्रभावित गरेको छ । तर, कतिपय मुलुकले यसलाई हल्का रूपमा लिएको भन्दै विश्व स्वास्थ्य संगठनले यो छिटै सकिने र यसबाट सहजै मुक्ति पाइने आशा गर्नु व्यर्थ रहेकाले सजगता अपनाउनु पुनः सुझाएको छ । उसले विश्वले छिटै र छोटो समयमै कोरोनाबाट मुक्ति पाउन नसक्ने भन्दै मुलुकमा दोहोरिइरहेको संक्रमणले यस्तो संकेत गरेको र यसलाई सामान्य नठान्न पनि उसले सबैलाई चेतावनी दिएको छ । जब कि अहिले सबैतिर हरेक कुरा पन्छाउन ‘कोरोना भाइरस पछि’ भन्ने थेगो नै प्रयोग भइरहेको छ ।
नेपालको हकमा कोरोना संक्रमण देखापरेसँगे सरकारले २०७६ चैत ११ देखि लकडाउन ग-यो । सो लकडाउन साउन ६ गते मंगलबार मध्यरातपछि अन्त गरेको थियो । आश्चर्य त्यो समय यस्तो थियो जतिखेर संक्रमिताको संख्या निरन्तर उकालो लागिरहेको थियो । लकडाउन खुल्नुमा वास्तवमा एकसय २० दिन लागू गरिएको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि विभिन्न क्षेत्रमा त्यसको असर देखिन थाल्नु थियो । जसले गर्दा सरकारमाथि दबाब पर्न गयो । यसैले, सरकारले लकडाउन खोल्ने निर्णय लियो । तर, खुला गरिएका क्षेत्रमा सोअनुरूप आवश्यक सजगता अपनाउनेतर्फ भने आवश्यक ध्यान दिइएन । यस्तो ठानियो कि कोरोना संक्रमण अब छैन । लकडाउन खुलेसँगै सामान्य अवस्थाकै जस्ता गतिविधि हुन थाले ।
संक्रमण हुनासाथ मरिने होइन, निको हुनेको संख्या ठूलो छ, तथापि यसप्रति सजगता आवश्यक छ
तर, जुनदिन देखि लकडाउन खुल्यो त्यसै दिनदेखि एउटै ठाउँमा धेरै संक्रमित भेटिन थाले । पछिल्लो समय समुदायमा संक्रमण फैलिन लागेको आशंका गरिन थालेको छ । यससँगै ठाउँठाउँमा निषेधाज्ञा लागू गरिएको छ । संघीय सरकारले लकडाउन फिर्ता लिए पनि स्थानीय स्तरमा विभिन्न महानगर, उपमहानगर, नगरपालिका र गाँउपालिकाले समेत आफ्नो सम्पूर्ण वा निश्चित क्षेत्रमा सिलबन्दी र निषेधाज्ञा लागू गरेका छन् । सरकारले चाहिँ संक्रमितको संख्या बढिरहेको र जोखिम देखिएका स्थानमा सोहीअनुसार आवश्यक व्यवस्था गरिरहेको बताएको छ । तर, त्यसको परिणाम देखिन सकेको छैन । यसैबीच मन्त्रालयले ‘जोखिम बढेको’ भन्दै ज्येष्ठ नागरिक र बालकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
आमसर्वसाधारणले भोग्नुपरेको कठिनाइ तथा व्यवसायीको दबाबबीच लकडाउन अर्थात् ‘बन्दाबन्दी’ खुलेको कुरा सबैलाई जानकारी नै छ । तर, बन्दाबन्दी खुल्नुको मुख्य कारक अर्थतन्त्र हो । ढुकुटीमा रकम नभएपछि खर्च गर्न सकिने कुरो भएन, आर्थिक वर्षको अन्त्य हुँदै गर्दा सबै कुरा डामाडोल हुने अवस्था आएपछि राजस्व असुलीका लागि पनि सरकारले बन्दाबन्दीलाई होलो बनाएको हो । त्यसपछि ६ साउन मंगलबार मध्यरात पछि केही क्षेत्रबाहेक प्रतिबन्ध हट्यो र बन्दाबन्दी खुल्यो । अहिले बन्दाबन्दी लगभग पूरै खोलिएको छ । शैक्षिक संस्था र लामो दूरीका यातायात र हवाई सेवाबाहेक सबै क्षेत्र खुला भइसकेका छन् र तीमध्ये पनि लामो दूरीको यातायात १ भदौपछि खोलिने र हवाई सेवा तथा शैक्षिक संस्था त्यसपछि खुल्ने तयारी गरिँदै छ ।
निश्चय नै सधैंको बन्दले चल्दैन र हामीले कोरोनासँगै जीउन अभ्यस्त हुनुको विकल्प छैन । तर, खुल्दा जुन खालका सुरक्षा सजगता अपनाइनुपर्ने थियो त्यो हुन नसक्नु कमजोरी हो । बन्दाबन्दीको समयलाई राज्यले त्यसतर्फ केन्द्रित गर्न सकेन । कारण सत्तासीन सत्ताको खिचातानीमा अल्मलिए, कतिपयले यसलाई कमाउने अवसरको रूपमा लिए । जुन काम गर्नुपर्ने थियो, जेजस्ता तयारी गर्नुपर्ने थियो त्यसको पूरै बेवास्ता गरे । अहिले यसरी काम, कारोबार र गतिविधि भइरहेका छन् कि लाग्छ, कोरोना महामारी पूर्णतः अन्त्य भइसकेको हो र नेपाल कोरोनामुक्त छ । जब कि यसबाट हुने संक्रमण बढ्दो छ, मृत्युको संख्या बढ्दो छ । क्वारेन्टाइन नियतवश खाली गराइएको हो, त्यसैले क्वारेन्टाइनबाट घर पुगेकामा संक्रमण भेटिएको छ । यसले समुदायमा नै कोरोना संक्रमण फैलिएको र यसको जोखिम झनै बढेको छ । यसको विषयमा बचाउ गर्ने प्रयास आवश्यक छैन ।
नेपालमा र पछिल्लो समय खासगरी काठमाडौंमै, जुन अबको ‘इपिसेन्टर’ बन्ने सम्भावना छ, यहाँसमेत कोरोनाका लक्षणसहितका संक्रमित भेटिन थालेका बताइन्छ । तराईका प्रमुख सहरमा यस्तै अवस्था छ । यसले कोरोनाको जोखिम निकै बढेको अनुमान गर्न सकिन्छ । चिकित्सक, विज्ञका सुझावसमेत बेवास्ता गरिनुको परिणाम भयावह स्थितिको सम्भावना बढेको हो । लकडाउनको समयमा पनि परीक्षणको दायरा नबढाउनु र अस्पतालको क्षमता नबढाएसँगै विज्ञको असन्तुष्टि थियो र रहँदै आएको छ । चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण र स्वास्थ्य सामग्रीप्रति पनि विज्ञले ध्यानाकर्षण गराउँदै आएका थिए । तर, सरकारले त्यसको बेवास्ता ग¥यो र आर्थिक गतिविधिको नाममा आफ्नै धुनमा एकपछि अर्को निर्णय लिइरह्यो जसको परिणाम आज कोरोना भाइरसको त्रास अकल्पनीय रूपमा बढ्दो छ ।
लकडाउन खुलेपछि परीक्षण दर बढाउनपर्नेमा त्यसो गरिएन । जब कि काठमाडौंमा सार्वजनिक यातायात खुल्यो, कोरोना अब पैदल होइन, गाडीमा यात्रा गर्न थाल्यो । मानिस सामान्य अवस्थामा फर्किएको ठान्न थाले । अब लामो दूरीका यातायात खुलेपछि चहलपहल झनै बढ्ने र सँगसँगै जोखिम पनि बढ्नेछ । कोरोना संक्रमणमा राज्यका कमजोरी छन् तर राज्यलाई मात्र दोष दिए उम्कने प्रयास गलत हुन्छ । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सभा–सम्मेलन, समारोह, भेटघाट, उत्सव, आदिको आयोजना नगर्ने घुमफिर नगर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनेजस्ता कुरा नागरिक तहबाट पालना गरिनुपर्नेमा त्यसो गरिएन । यस्ता कारणबाट पनि यसको जोखिम बढेको छ ।
नागरिक स्वयं सजग हुनु त छँदै छ, आवश्यक सामग्रीको जोहो गरिदिने जिम्मेवारी राज्यको हो । राज्यको लाचारी स्वीकार्य हुन सक्दैन । सबै कुरालाई थाती राखेर पनि यस महामारीसँग जुध्न राज्य प्रतिबद्ध हुनुपर्छ । संघीयता र तीन तहका सरकार गठन हुनुको औचित्य के हो ? गाउँगाउँका सिंहदरबार भ्रष्टाचारका लागि खडा गरिएका हुन् कि कामधाम पनि हुने हो ? यसको जवाफ राज्यले दिनुपर्छ । संकटको समयमा राज्यको सक्रियता बढ्नुपर्छ र उपस्थितिको अनुभूति दिलाउन सक्नुपर्छ । नागरिकको जीवनरक्षा राज्यको पहिलो प्राथमिकतामा पर्नुपर्छ । तर, यस्तो महसुस हुन नसक्नु विडम्बनाको विषय हो ।
लकडाउन खुकुलो बनाएपछि बढेको आवतजावत लकडाउन खुला गरिएपछि झनै बढेको छ । यससँगै मानिसको चलहपहल बढेको र कोरोनो संक्रमणसमेत बढेको छ । यसलाई मध्यनजर गर्दै आवश्यकताअनुसार लकडाउनको तयारीसमेत गरिएको बताइन्छ । परिस्थिति बिग्रँदै गएमा लकडाउन हुन सक्नेछ । काठमाडांै सर्वाधिक जनघनत्व भएको खाल्डो हो । पहिले काठमाडौं असुरक्षित ठानेर बाहिर गएकाहरू लकडाउनकै बीच पहुँचको बलमा खुसुखुसुभित्र आउँदा र अहिले पनि विभिन्न बहानामा काठमाडौं छिर्ने क्रम बढ्दै जाँदा काठमाडौं उपत्यका, जो मुलुककै बढी जनसंख्याले आश्रय लिएको थलो हो, जोखिममा पर्दै गएको छ । काठमाडौंमा महामारी फैलिनुको अर्थ ठूलो मानवीय क्षति हुनु हो ।
लकडाउन खुलाउनु सरकारका लागि अनिवार्यजस्तै भइसकेको थियो भने आमनागरिक, खासगरी गरेर खाने वर्ग पनि अप्ठेरोमा परेका थिए । यसको भयावहताबारे जानकारी भएकाले नागरिक आफँै सचेत हुँदै जाँदा स्थिति सहज हुने सरकारको अनुमान पनि थियो । तर, सोअनुरूप भएन । हाम्रो शैली फेरिएन । हामीले लकडाउन खुल्नुलाई कोरोनाको अन्त्यको रूपमा लियौं र यसैले पनि वर्तमानमा झनै ठूलो त्रास बढ्न थालेको हो । त्रास बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नै ‘यदि हामीले जनस्वास्थ्यका मापदण्ड अपनाएनौं भने बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन सक्ने’ चेतावनी दिएका छन् । यसैबीच, चिकित्सक र विज्ञहरूले तत्काल लागू हुने गरी कम्तीमा दुई साता पूर्ण लकडाउन हुनुपर्ने सुझाव दिएका छन् । राज्य गम्भीर होस् । ज्यान रहे सब थोक रहन्छ । पहिलोपटकको बन्दाबन्दी महामारीको कारण बाध्यात्मक थियो । अब यदि बन्दाबन्दी भयो भने त्यो चाहिँ हामीले आफंै निम्त्याएको हुनेछ ।
लकडाउन खुकुलो पारेसँगै पछिल्लो समयमा समुदायमा संक्रमण फैलिन लागेको आशंका गरिन थालिएको छ
सरकारले महामारीको बहानामा विभिन्न किसिमका नचाहिँदा काम र मनोमानी गरिरहेको छ । यसका थुप्रै उदाहरण छन् । यसको पछिल्लो उदाहरण कोभिडसँगै प्रशासनिक खर्च कटौती गर्ने भन्दै नयाँ नियुक्ति नगर्ने भने पनि हालैको मन्त्रिपरिषद्को बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेर अनौठो चाला देखाएको छ,के आफू अनुकूलका व्यक्ति वा भनौं आफ्ना मान्छेलाई जागिर खुवाउने मेसो हो ? सरकारको यो निर्णयप्रति प्रश्न उठेको छ । लोकसेवा आयोगलाई छल्ने यो प्रयास आफैंमा निन्दनीय छ । संकटको समयलाई स्वार्थ पूरा गर्न प्रयोग गर्नु र स्वेच्छाचारी निर्णयको अवसरका रूपमा लिनु निन्दनीय हो ।
हाम्रा चाडपर्व प्रारम्भ भइसकेका छन् । तर, कोरोनाको कहर बढ्दो छ । यसले हामीलाई चिन्ता थपेको छ । तर, यसमा हामी सबै जिम्मेवार छौं । सरकारदेखि नागरिकसम्मका सबैको गैरजिम्मेवारीका कारण कोरोनाको त्रास बढेको हो । लापर्बाही, बेवास्ता वा खेलाँची के भन्ने ? हामी सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नबाट चुकेका छौं । हामीले बुझेर पनि बुझ पचाएका छौं । यसो गरेर हामीले आत्मघाती कार्य गरेका छौं । बाँचे सब थोक गर्न पाइन्छ, यतिखेर जीवन धान्ने र जिउन कठिनाई परिरहेकालाई सक्दो सहयोग गर्नु नै बुद्धिमानी हो । यसप्रति हामी सबैको ध्यान जानुपर्छ । राज्यले अभिभावक र संरक्षकको भूमिका कुशलतापूर्वक निभाउनुपर्छ । यसो गर्दा राज्यप्रतिको भरोसा पनि बढ्नेछ । सत्ताकेन्द्रित राजनीतिले जनताको जिउज्यान भन्दा सत्तालाई नै प्राथमिकतामा राखेको छ, उसको ध्यान सत्तामै छ । यसैले, यतिखेर नागरिक आफ्ना लागि आफंै सजग हुनु जरुरी छ । लापर्बाही नगर्ने, सुरक्षित रहने, सकभर बाहिर नै ननिस्कने, भेटघाट र सम्पर्क नगर्ने र अरुबाट टाढा रहनु नै यसबाट सुरक्षित रहने सबैभन्दा राम्रो उपाय हो भन्ने प्रस्ट भएकाले हामीले यसमा खेलबाड गर्नु हुँदैन । यो हरेक नागरिकले बुझ्नुपर्ने कुरा हो ।
अन्त्यमा, बढ्दो संक्रमणसँगै आमजनमानसमा त्रास छाएको छ । सामाजिक दूरी, सरसफाई र अन्य आवश्यक सजगता नअपनाउने र लुकीछिपी यात्रा गर्ने केहीका कारण धेरैले पीडा भोग्नु, बेहोर्नुपर्ने त्रसित हुनुपर्ने अवस्था आएको छ । शक्तिशाली तथा आर्थिक, प्राविधिक एवं जनशक्तिका दृष्टिले सम्पन्न मुलुकले समेत कोरोनामाथि विजय प्राप्त गर्न हम्मेहम्मे परिरहेको बेला हामीजस्तो सबै दृष्टिले कमजोर मुलुकले महामारीप्रति खेलाँची गर्नु महाभूल हुनेछ । राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा कुनै दुई मत हुन सक्दैन, नागरिक तहबाट पनि महामारीप्रति सजगता अपाउने र केही समय कठिनाई बेहोर्नु परे पनि धैर्य र संयमका साथ सुरक्षाका उपाय अपनाउनु बुद्धिमानी हुनेछ । संक्रमण हुनासाथ मरिने होइन, निको हुनेको नै संख्याठूलो छ यो आफ्नो शारीरिक अवस्थाले निर्धारण गर्न कुरा हो । तर पनि यसप्रति सजगता आवश्यक छ । कोरोनाबाट आफूलाई जोगाउने काम आफ्नै हो सरकार वा डाक्टरले जोगाइदेलान् भन्ने ठान्दा आफू मात्र होइन आफ्ना परिवार र आफन्तलाई समेत धोका हुन सक्छ । सबैले बुभ्नु जरुरी छ । – विनोद नेपाल / राजधानी