निजीसहित सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागु गर्ने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरस संक्रमणको गति तीव्र बनेसंगै सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा निजीसहित सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्य क्षेत्रका विज्ञसँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् । सोमबार काठमाडौं उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

सिसिएमसीका एक सदस्यका अनुसार सिसिएमसीको बैठकमा संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकका सबैलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएका छन ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आएको छ ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ वटा नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

Facebook Comments Box