फ्रान्सेली राजदूतावासद्वार थामेका बाढीपीडितलाई सहयोग

अर्थ/उद्योग प्रवास

सल्लेरी (सोलुखुम्बु), ४ चैतः यहाँस्थित थामेका बाढीपीडितलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गतेको हिमपहिराका कारण क्षति भएको बस्तीमा अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको हो ।

पचास परिवारलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट रु २९ लाख २१ हजार दुई सय ६२ अनुदान रकम प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार फ्रान्सेली राजदूतावासबाट प्राप्त रकममध्ये पहिलो किस्ताबापतको रु १२ लाख २५ हजार रकम यही चैत ३ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको खातामा पठाइएको छ ।

प्रजिअ घिमिरेले प्रत्येक घरलाई रु २५ हजारका दरले रकम प्रदान गरिने जानकारी दिनुभयो । हिमपहिरोपश्चात् तत्कालै जिल्ला प्रशासन कार्यालयबाट १३ परिवारलाई रु १५ हजारका दरले राहत रकम प्रदान गरिएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले १८ परिवारलाई रु ५० हजारका दरले र ४५ परिवारलाई रु १० हजारका दरले राहत उपलब्ध गराएको थियो । अहिले फ्रन्सेली दूतावासबाट पहिला किस्ताबापतको रकम गाउँपालिकाको खातामा आएको बताउँदै गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले तत्कालै पीडितलाई उक्त रकम हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

हिमपहिरो गएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरले सिरक, सिरानी, म्याट्रेस, तन्नालगायत सामग्री वितरण गरेको थियो । सोलु दूधकुण्ड नगरपालिकाले २३ परिवारलाई रु ५५ हजारका दरले, १८ परिवारलाई रु ३५ हजारका दरले र १६ परिवारलाई रु १५ हजारका दरले राहत प्रदान गरेको थियो ।

बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे आधारभूत विद्यालय पुनःनिर्माणका लागि गत फागुन अन्तिममा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारीस गरेको प्रजिअ घिमिरे बताउनुभयो ।

गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिराका कारण ५४ घरमा क्षति भएको थियो भने बाढीका कारण थामे आधारभूत विद्यालय, थामे आधारभूत विद्यालयको होस्टेल, थामे स्वास्थ्य चौकी, खुम्बु बिजुली कम्पनीको विद्युत् सबस्टेसन र इन्टेकमा पूर्ण रूपमा क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

Facebook Comments Box