अध्यक्षद्धयबीचको छलफलले निरन्तरता पाएसँगै नेकपामा देखिएको संकट समाधान हुने संकेत

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् ।

ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले त्यस्तो आग्रह गरेको भोलिपल्टै लामो समयदेखि अवरुद्ध दुई अध्यक्षबीचको छलफलले निरन्तरता पाएसँगै नेकपामा देखिएको संकट समाधान हुने संकेत देखिएको छ ।

बिहीबार भएको दुई अध्यक्षबीचको छलफलका क्रममा नेकपामा लामो समयदेखि देखिँदै आएको विवाद समाधान उन्मुख रहेको बताइएको छ । दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको नेकपा स्रोतको दाबी छ ।

अध्यक्षद्वय ओली र दाहालबीच संवाद टुटेपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेताहरूले छलफलका लागि पहल गरेका थिए । उनीहरूले बुधबार नै ओली र दाहाललाई छुट्टाछुट्टै भेटेर सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा दबाब दिएका थिए

आठ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच झन्डै चार घण्टा लामो ‘वान टु वान’ छलफल भएको हो । दुवै पक्षले छलफल सकारात्मक भएको बताउँदै थप सहमतिका लागि दुई अध्यक्ष शुक्रबार पुनः छलफलमा बस्ने समझदारी भएको बताएका छन् ।

खुमलटार स्रोतका अनुसार मुख्यतः दुइटा विकल्पबारे छलफल केन्द्रित भइरहेको छ । जसमध्ये पहिलो विकल्पका रूपमा केन्द्रीय कमिटीको निर्णयअनुसार २५ देखि ३० चैत २०७७ मा महाधिवेशन गर्ने, त्यसका लागि एकता महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसको नेतृत्व दाहाललाई दिने विषयमा छलफल भइरहेको छ ।

दोस्रो विकल्पका रूपमा केन्द्रीय कमिटीको बैठक बोलाउने सबै प्रस्ताव बैठकमै प्रस्तुत गर्दै त्यहीबाट समाधान गर्ने रहेको छ । दुई अध्यक्षबीच सम्भव भए पहिलो प्रस्तावअनुसार नभए १ सय ५२ केन्द्रीय सदस्यहरूले माग गरेको केन्द्रीय कमिटी बैठक बोलाउने गरी छलफल अगाडि बढिरहेको जनाइएको छ ।

‘महाधिवेशन आयोजक कमिटी बनाएर जाऊँ, बरु यसको नेतृत्व तपाईंले नै गर्नुस् भनेर अध्यक्ष दाहाललाई प्रस्ताव आएको छ । यसमा सहमति नभए सबै विवाद केन्द्रीय कमिटीमा लिएर जाऊँ, त्यहीबाट निकास निकालौं भन्ने दोस्रो प्रस्तावमा पनि छलफल भइरहेको छ । धेरै दिन यो गतिरोध राख्ने पक्षमा दुवै अध्यक्ष हुनुहुन्न,’ नेकपा स्र्रोतले भन्यो ।

यसअघिको छलफलमा प्रधानमन्त्री ओलीले मंसिरमै अर्ली महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावमा सहमति हुन सकेन । पार्टी एकताका सम्पूर्ण कामका साथै सदस्यता विवरण टुंगो नलागेको, महाधिवेशनमा विचार, सिद्धान्तको बहससमेत हुने भएकाले पर्याप्त समय नभएकाले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटेको थिएन ।

बालुवाटार स्रोतका अनुसार पार्टी एकता र सदस्यता टुंगो लगाउँदै एकता महाधिवेशनको कार्यतालिका, मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्री हेरफेर, अधिकार बाँटफाँट, वैचारिक बहस, आलोचना र आत्म आलोचनालगायतका विषयका आधारमा सहमति खोज्ने काम भइरहेको छ ।

प्रधानमन्त्री ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका थिए । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउनकै लागि अर्को पक्षले आफूविरुद्ध पत्रकार सम्मेलन गरे पनि आफू चुपचाप बसेर पार्टी एकतालाई बचाउन कोसिस गरिरहेको ओलीको भनाइ थियो ।

गत २१ साउनदेखि ओली र दाहालबीच संवाद टुटेको थियो । पार्टीभित्रको विवाद पेचिलो बन्दै गइरहेको अवस्थामा पार्टी बैठक अनिश्चित बन्नु र अध्यक्षद्वयकै बीचमा छलफल नहुनुले पार्टी फुट्ने आशंका गर्दै अन्य नेता कार्यकर्ताहरूले सहमतिका लागि दबाब दिँदै आइरहेका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच संवाद टुटेपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेताहरूले छलफलका लागि पहल गरेका थिए । उनीहरूले बुधबार नै ओली र दाहाललाई छुट्टाछुट्टै भेटेर सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा दबाब दिएका थिए ।

१० असारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल रहेको भन्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाएपछि पार्टीमा शक्तिसंघर्ष सुरु भएको हो । तर, ओलीले दुवै पदबाट राजीनामा नदिने र दाहाल–नेपाल समूहले दिनैपर्ने अडानले नेकपाभित्रको विवाद पेचिलो बनेको हो ।

स्थायी कमिटी बैठक नसकिँदै १३ साउनमा ओलीले एकतर्फी रूपमा अनिश्चित कालका लागि बैठक स्थगित गरेपछि सोही दिन दाहाल–नेपाल समूहले बैठक राखेका थिए । त्यसयता बैठक बस्न सकेको छैन । ओलीले पहिला सचिवालयको बैठक राख्नुपर्ने अडान लिँदै आएका थिए भने दाहालले पहिला स्थायी कमिटीकै बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने अडान व्यक्त गर्दै आएका थिए । यही अडानसँगै दाहाल–नेपाल समूहले २१ साउनमा पत्रकार सम्मेलन गरेरै ओलीमाथि समूहगत प्रहार गरेपछि अध्यक्षद्वयबीचको संवादसमेत टुटेको थियो ।

यसैबीच अध्यक्ष ओलीसँगको छलफल सकेर अध्यक्ष दाहालले प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग भेटघाट गरेका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग भेटघाट गरेका थिए । भेटघाट काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा भएको थियो । छलफलमा दाहालसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी भएका थिए ।

छलफलमा सहभागी एक नेताले भेला नभई पार्टीको गतिरोध अन्त्य गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

Facebook Comments Box