काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो ।
लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवेश गर्नेहरूले योग्यता, दक्षता र क्षमताका आधारमा नै छनोट हुने अवसर पाइरहेका छन् । हालसम्म आयोगको निष्पक्षतामाथि कसैले पनि औँला ठड्याउन पाएका छैनन् । तर, पछिल्ला केही घटनाले भने आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न सिर्जना गरिदिएको हो । आयोगलाई योग्यता (मेरिट) प्रणालीको रक्षकका रूपमा मानिँदै आएको छ ।
पछिल्लो पटक सञ्चालित विविध सेवाअन्तर्गत सहसचिवस्तरको सूचना प्रविधि विज्ञको परीक्षामा नियुक्त विज्ञको सेटिङ धन्दाका कारण लोकसेवाले सम्पूर्ण परीक्षा नै रद्द गर्नुपरेको छ । सो परीक्षाको लिखितमा सहभागी भएका १० मध्येबाट तीन जना उत्तीर्ण भई अन्तर्वार्ताका लागि समेत सूचना जारी भइसकेकामा हाल सो परीक्षाको अन्तर्वार्ता मात्रै होइन, लिखित परीक्षा नै रद्द गरिएको छ ।
आयोगले २९ साउनमा सो परीक्षाको सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । परीक्षा रद्द गर्ने निर्णय गरिए पनि आयोगले त्यसको कारण भने खुलाएको छैन ।
आयोगका एक अधिकारीका अनुसार यो परीक्षामा केही बदमासी भएको सूचना र तथ्यका आधारमा परीक्षा रद्द गरिएको हो । आयोगका अध्यक्ष उमेश मैनालीले अन्तर्वार्ता हुनुभन्दा आधा घण्टाअघि मात्रै परीक्षामा केही बदमासी भएको तथ्य थाहा पाएपछि परीक्षा रोक्न निर्देशन दिएका थिए । आयोगका अनुसार परीक्षा ‘फेयर’ हुन नसकेको भन्नेमा आयोग विश्वस्त भएपछि आयोगले परीक्षा रद्द ग-यो तर बदमासी कोबाट कसरी भयो भन्ने बारेमा यथेष्ट प्रमाण पाउन नसकेपछि आयोगले कसैमाथि पनि कारबही भने गर्न सकेको छैन ।
प्रशासनविद्ले बदमासी गर्ने कर्मचारी तथा विज्ञलाई कारबाही गरी सार्वजनिक गर्न नसकेसम्म आयोगमा यस्ता विकृति बढ्दै जाने र यसले आयोगको छवि तथा प्रतिष्ठामाथि नै गम्भीर चोट पु-याउन सक्नेतर्फ पदाधिकारीलाई सचेत गराएका छन् ।
आयोग आफैंले अहिले यो घटनाको अध्ययन अनुसन्धान गरिरहेको छ । आयोग अध्यक्ष मैनालीले यो घटनाको विषय हाल अध्ययन अनुसन्धानमा नै रहेकाले केही भन्न नमिल्ने र अनुसन्धान सकिएपछि सबै विषय बाहिर ल्याइने बताए । कसको कसरी सेटिङ रह्यो भन्ने बारेमा उपयुक्त प्रमाण संकलन गर्न नसकिएकाले कसैमाथि किटेर कारबाही गर्न नसकिएको आयोगको भनाइ छ ।
यसअघि गत ११ जेठमा सञ्चालन भएको नेपाल वायु सेवा निगमको सहायक चौथो (खरिदारस्तर)को परीक्षामा सहभागी आफ्नै छोरीलाई आयोगमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाहीले आफैंले उत्तरपुस्तिका लेखेर १ नम्बरमा उत्तीर्ण गराउने प्रयास गरेका थिए । सोको पोल खुलेपछि आयोगले उनलाई कारबाही गरेको थियो ।
आयोग स्रोतका अनुसार आयोगले पछिल्ला दिनमा हचुवाको आधारमा विज्ञ नियुक्ति गर्न थालेकाले यस्तो समस्या भोग्नुपरेको हो । ‘आयोगमा नियुक्त हुने विज्ञहरू योग्यता र दक्षताले मात्रै होइन, नैतिकता र इमानदारिताको दृष्टिकोणले पनि पूर्ण हुनुपर्छ,’ आयोगका एक अधिकारीले भने, ‘तर पछिल्ला दिनमा केही सेवा समूहमा राम्रा खालका विज्ञ नियुक्त हुन नसक्दा समस्या आउने क्रम बढेको छ ।’
प्रशासनविद्ले भने आयोगमा जाने कर्मचारीहरू समेत नैतिकतवान् र इमानदार बन्नुपर्नेमा जोड दिएका छन् । आयोगका केही पदाधिकारीले विज्ञ नियुक्ति गर्दा दक्षता, क्षमता तथा नैतिकताभन्दा पनि आफू निकटकालाई नियुक्ति गर्ने क्रम बढ्दा आयोगमा पछिल्ला दिनमा यस प्रकारका बदमासीका घट्ना हुन पुगेको बताइएको छ । यद्यपि आयोगमा कसैले कुनै बदमासी गरेमा त्यसलाई पत्ता लगाउने मेकानिज्म भने आयोगले विकास गरेको छ । सोही मेकानिज्मकै कारण आयोगका कर्मचारी र विज्ञले गर्ने बदमासी पत्ता लगाउने गरिएको आयोगका अधिकारीको दाबी छ ।
प्रशासनविद्ले भने आयोगमा बदमासी गर्ने कर्मचारी तथा विज्ञहरूलाई कारबाही गरी सार्वजनिक गर्न नसकिए आयोगमा यस्ता विकृति अझै वृद्धि हुँदै जाने र त्यसले आयोगको छवि र प्रतिष्ठामाथि नै गम्भीर चोट लाग्न सक्नेतर्फ आयोगका पदाधिकारीलाई सचेत गराएका छन् । आयोगको काम कारबाहीमा एकपछि अर्को गल्ती दोहोरिने कार्यले लोकसेवा आयोग मात्रै नभएर मुलुकको समग्र शासन प्रणालीलाई नै कमजोर बनाउने प्रशासनविद्को दाबी छ ।
यसअघि पनि लोकसेवा आयोगमा विज्ञका रूपमा रहेका सरकारका तत्कालीन सहसचिवले आफ्नै पत्नीलाई उत्तीर्ण गराउन आफंैले कापी परीक्षण गर्दा उनीमाथि विभागीय कारबाही भएको थियो । यसैगरी, पूर्वसचिव रामस्वरूप सिन्हाले पनि लोकसेवा आयोगको ऐन नियमावली तथा लोकसेवा कार्यसम्पादन निर्देशिकाविपरीत आफ्नै छोरीलाई उत्तीर्ण गराउन आफैं कापी जाँचेका थिए । राजधानी