नेकपाको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलद्धारा काम सुरु

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, साउन ३२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरु गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल सुरु भएको छ ।
विवादलाई समाधान गर्न कसरी छलफल अगाडि बढाउने विषयमा सामान्य कुराकानी भएको कार्यदलका सदस्य एवं नेकपाका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा कार्यदलकै बारेमा छलफल भयो, त्यसपछि काम कसरी अगाडि बढाउने विषयमा पनि कुराकानी गरियो ।”
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलमा सचिवालय सदस्य शङ्कर पोखरेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल हुनुहुन्छ । कार्यदलले पार्टीमा देखिएको वैचारिक, राजनीतिक, साङ्गठनिक विवाद पहिल्याउने काम गरेको छ । अब यसलाई समाधान कसरी गर्ने र त्यसको विकल्पका बारेमा छलफल सुरु भएको जनाइएको छ ।
बिहीबारदेखि अध्यक्षद्वयका बीच भएको छलफलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शुक्रबार कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलले पार्टी महाधिवेशन, बाँकी रहेका पार्टीको समायोजन, कार्यविभाजन, प्रदेश तथा सङ्घमा मन्त्री हेरफेर, सरकार र पार्टीबीचको समन्वय लगायतका विषयमा छलफल गरिने जानकारी दिइएको छ ।

अविश्वास बढाउनेतर्फ नलागौँ  : थापा
कार्यदल गठनमा भएका टीकाटिप्पणीप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका पे्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकता र सहमतिको प्रक्रिया जे जसरी भए पनि अगाडि बढ्नु निकै खुसीको कुरा भएको बत(ाउनुभएको छ । उहाँको भनाइ छ, “यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासो र भत्र्सना गरेको स्वीकार्य हुन सक्दैन, केही अघिसम्म चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिँदै जानु सकारात्मक सङ्केत हो ।”
थापाले आफ्नो प्रतिक्रियामा भन्नुभएको छ, “दुई जना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो । विधि, पद्धति र संस्थागत कार्यपद्धति पनि यही हो ।” “दुई अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्रो होला,” थापाको भनाइ छ ।
स्वार्थभन्दा माथि उठेर पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा लाग्न आग्रह गर्दै सल्लाहकार थापाले भन्नुभएको छ, “सहमतिको प्रयासमा सके खुला दिलले सहयोग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयोचित र उपयुक्त कदम हुनेछ ।”  – गोरखापत्र

Facebook Comments Box