नेपालको लिपुलेक नजिक चीनले २ हजार सुरक्षाकर्मी थपेपछि भारतमा हंगामा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक नजिक चीनले सुरक्षाकर्मी थपेपछि भारतमा हंगामा मच्चिएको छ । भारतीय सेनाले उच्च सतर्कता अप्नाएको जनाएको छ भने भारतीय सञ्चारमाध्यमले भारतको चिन्ता थपिएको टिप्पणी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत र नेपालबीचको तनावकाबीच चीनले थप सैनिक तैनाथ गरेको छ । लिपुलेक भञ्ज्याङ नेपाल, भारत र चीनको त्रिदेशीय क्षेत्र नजिक नेपालमा पर्छ । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेको लिपुलेक नजिकै चीनले थप २ हजार भन्दा धेरै सैनिक थपेको छ ।

चीनले १५० लाइट आम्र्स ब्रिगेड तैनाथ गरेको छ । यो सैन्य संख्या नेपालको लिपुलेकबाट १० किलोमिटर चिनियाँ क्षेत्रमा बसेको छ । रणनीतिक महत्वको क्षेत्र भएको र भारतले नेपालको जमिन हड्प्ने प्रयास गरेकाले चिनियाँ सुरक्षाफौज त्यहाँ तैनाथ भएको हो ।

चीनले जुलाइ महिनामा त्यहाँ एक हजार सैनिक तैनाथ गरेको थियो । पछिल्लो १५ दिनभित्र थप २ हजार भन्दा धेरै सैनिक तैनाथ गरेको भारतीय सञ्चारमाध्यमको दावी छ । नेपालको जमिन अतिक्रमण गरेर भारतले १७ हजार फिटको उचाइमा सडक निर्माण गरेपछि नेपाल र भारतबीच सम्बन्धमा दरार आएको छ ।

भारतले नेपाली भूमिबाट कैलाश मानसरोवर यात्राका लागि सडक बनाएको हो । नेपालले भारतीय कदमको विरोध गर्दै जवाफी नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध राम्रो छैन ।

यहीँबीचमा चीनले सीमा क्षेत्रको आफ्नो भू-भागमा सुरक्षा उपस्थिति बलियो बनाएपछि भारतीय सेनाले पनि उच्च सतर्कता अप्नाएको जनाएको छ । भारतमा यो विषयले हंगामा भएको छ ।

पछिल्लो तीन महिनादेखि चीन र भारतबीच पनि राम्रो सम्बन्ध छैन । पूर्वी लद्दाख क्षेत्रमा दुई देशबीचको विवाद उत्कर्षमा छ । अहिलेसम्म वास्तविक नियन्त्रण रेखा एलएसीमा जारी विवाद हल हुन सकेको छैन । भारतले पनि लिपुलेक नजिक सीमा सुरक्षा बलको संख्या बढाएको छ ।

Facebook Comments Box