पार्टी नेतालाई दलाल भन्नेलाई नियुक्ती दिने काम गर्नु भएन – अध्यक्ष प्रचण्ड

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहमतिको प्रस्ताव तयार गर्न गठन भएको कार्यदल र राजनीतिक नियुक्तीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको भेटवार्तामा अध्यक्षद्वयबीच कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएपछि भएका राजनीतिक नियुक्तीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा प्रचण्डले नियुक्तीमा आपत्ति जनाए । उनले भने, ‘पार्टी नेतालाई दलाल भन्नेलाई नियुक्ती दिने काम गर्नु भएन । सहमति अनुसार अगाडि बढ्न लागेको पार्टीलाई फेरि तपाईँले पछाडि धकेल्न खोज्नु भयो ।’

प्रचण्डले विगतमा पनि नियुक्तीको प्रक्रियामा गम्भीर कमजोरी गरेको भन्दै सच्चाउन आग्रह गरे । उनले भने, ‘तपाईँले विगतमा पनि चाकडी गर्ने र दास मनोवृत्तिका मानिसलाई नियुक्ती गर्नु भएको छ । नेताहरुलाई गाली गर्नेलाई खोजी खोजी नियुक्ती गर्ने कामले पार्टीमा शिष्टाचार, अनुशासन र विधि कुनै पनि कुरा पालना हुँदैन । मैले पनि तपाईँलाई गाली गर्नेलाई नियुक्ती दिने हो ? यसरी हुँदैन ।’

प्रचण्डले प्रेस काउन्सिल नेपाल र स्वरोजगार कोषको तत्काल फिर्ता गर्न तथा विगतमा भएका विवादीत नियुक्तीहरु खारेज गर्ने विषयमा आज छलफल गरेका थिए । उनले कार्यदललाई दुवै अध्यक्षले सहयोग गरेर जानुपर्नेमा जोड दिएका छन् । राजनीतिक नियुक्तीको विषय कार्यदलमा पनि उठेको छ । कार्यदलमा पनि यो विषय विवादीत भएको छ ।

प्रचण्डको कुरा सुनेका प्रधानमन्त्री ओलीले अब हुने नियुक्तीमा ध्यान दिने बताए । उनले भने, ‘विगतमा प्रक्रियामा रहेछ । मैले प्रक्रियामा भएकाले गरेँ । नगरेको भए पनि हुनेरहेछ । गरिसकेको कुरा फिर्ता गर्दा राम्रो हुँदैन कि ? अबका नियुक्तीमा सहमति गरेरै गर्छु ।’

ओलीले कार्यदलको सुझाव कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए । उनले भने, ‘कार्यदलबाट आउने सुझावका आधारमा अगाडि बढौँ । त्यसलाई कार्यान्वयन गरेर जानुको विकल्प छैन । मैले सबै सहमतिलाई कार्यान्वयन गर्छु । अब नियुक्तीहरु पनि सल्लाहमै गर्छु ।’

मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो। भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले हिजो आदेश दिइसकेको छ।

रोका र भण्डारी दुवैजना पार्टी नेताहरुलाई गाली गरेर नियुक्तीका लागि योग्य भएको भन्दै कार्यदलका एक सदस्यले गम्भीर असहमति जनाएका थिए । दुवैजनाले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुलाई गाली गरेर सामाजिक सञ्जालमा स्टाटस र विचार राख्ने गरेका थिए ।

Facebook Comments Box