काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक झण्डै डेढ महिनापछि बस्ने भएको छ । बैठक २६ भदौमा बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच छलफलले शुक्रबार बैठक बोलाउने सहमति भएको हो ।
ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक बस्ने सहमति भएको जानकारी दिए । यसअघि महासचिव पौडेल नेतृत्वमा गठित ‘समस्या समाधान सुझाव कार्यदल’ले बुझाएको प्रतिवेदन विषयमा छलफल हुने एजेण्डा तय भएको छ ।
गत १८ भदौमा बसेको नेकपा सचिवालय बैठकले प्रतिवेदन विषयमा छलफल गरेको थियो । जसमा अध्यक्षद्वयको कार्यविभाजन, एकताको राष्ट्रिय महाधिवेशन, पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायत विषय समावेश छन् ।
गत १० असारदेखि सुरु नेकपा स्थायी कमिटी बैठक त्यसबीच पटकपटक बोलाउने र स्थगित गरियो । शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी नै बिभाजन हुने खतरासमेत बढेको थियो । तर, नेकपा दोस्रो तहका साथै युवा दबाबका कारण एकता जोगिएको हो ।
गत १३ भदौमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक एकतर्फी रूपमा अनिश्चितकालका लागि स्थगित गरेपछि अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत सदस्यसहित बैठक सञ्चालन गरेका थिए ।
पार्टीमा विवाद बढ्दै गएपछि ओली र दाहाल गत २९ साउनमा कार्यदल गठन गर्न सहमत भएका थिए । त्यसको दुई दिनपछि बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गर्दै सहमति प्रस्ताव ल्याउन कार्यादेश दियो ।
महासचिव पौडेल नेतृत्वमा गठन भएको कार्यदलमा भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल सदस्य थिए । कार्यदलले गत ६ भदौमा प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा अध्यक्ष ओलीले प्रतिनिधिसभा अवधिसम्म प्रधानमन्त्रीका रूपमा सरकार र दाहालले पार्टी सञ्चालन गर्नेगरी कार्यविभाजन गरिएको छ । अगामी एकता महाधिववेशन केन्द्रीय कमिटीले निर्णय गरेअनुसार चैत अन्तिम साता सहमतिकै आधारमा गर्ने प्रस्ताव आएको छ ।
त्यस्तै, संघीय र प्रदेश सरकार पुनर्गठन सुझावसमेत कार्यदलले दिएको छ । तर, वरिष्ठ नेता नेपालले उठाउँदै आएको ‘एक व्यक्ति एक जिम्मेवारी’ विषयमा प्रतिवेदन मौन छ । सोही कारण गत बिहीबार बसेको सचिवालय बैठकमा नेता नेपालले असहमति जनाएका थिए ।
स्थायी कमिटी बैठकले प्रतिवेदन परिमार्जनसहित पारित गर्ने जनाइएको छ ।