हिरासतमा महराको मृत्यु घटनालाई लिएर प्रहरी उपरिक्षकसहित ६ जनाबिरुद्ध जाहेरी

खवर पाटी (खोज खबरको अभियान)

रौतहट । प्रहरी हिरासतमा रहेका बिजय महराको मृत्यु भएको घटनालाई लिएर पीडित परिवारले रौतहटका तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षकसहित ६ जनाबिरुद्ध जाहेरी दिएका छन् ।

प्रहरी हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका वाड नं. ८ का विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

मृतक महरालाइ गरुडा नगरपालिका वाड नं. ८ जिगडियाका निरन्जन पासवानको हत्याको आरोपमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो । उनको उपचारको क्रममा बिरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

तत्कालीन रौतहट प्रहरी प्रमुख खडका,इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । एसपी खडका प्रहरी प्रधान कार्यालय तानिएका छन् भने इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डिएसपी महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् ।

त्यस्तै प्रहरी निरीक्षक नवीन सिह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि निलम्बनमा परेका छन । सई वीरेन्द्र यादव भने गरुडामै कार्यरत छन् । रौतहटमा अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई आएका छन । उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

यता सोही घटनाको छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको समितिले काम अन्तिम चरणमा पुराएको समितिका संयोजक उपसचिब डोरेन्द्रराज निरौलाले जानकारी दिएका छन् ।

Facebook Comments Box