काठमाडौं । नेपालको सबैभन्दा पुरोना इतिहास बोकेको नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) आज एक सय ७ औं जन्मजयन्ती मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बिपी कोइरालालाई नेपाली राजनीतिको आदर्श पुरुषका रुपमा लिइन्छ ।
नेपालमा पहिलोपटक राष्ट्रियता र समाजवादको भाष्य प्रयोग गरेका बिपी कोइरालाले स्थापना गरेको नेपाली काँग्रेसमा उनको राजनीतिक लिगेसीको प्रश्न उठिरहेको छ ।
विश्लेषकको कसीमा काँग्रेसमा कति छ बिपीको लिगेसी ?
पुरञ्जन आचार्य : काँग्रेस निकट राजनीतिक विश्लेषक
यतिबेला काँग्रेसमा बिपीको राजनीतिक विरासत छैन । वंशजको विरासत मात्र छ । अहिलेको संविधान र काँग्रेसको पार्टी विधानले गरेको व्यवस्थाअनुसार जे हुनुपर्ने हो प्राविधिक रुपले भइरहेको छ । संविधान समावेशन छ । काँग्रेस पनि नेपालका अरु पार्टीभन्दा समावेशी सुरु गर्ने पार्टी हो । अरु पार्टीको विधानभन्दा काँग्रेसको विधान समावेशी लोकतान्त्रिक देखिन्छ । तर बिपीको राजनीतिक शैली, बिचार र नेपालबारे जे सोच थियो, त्यसबाट काँग्रेस पुरै बाहिर गएको छ । काँग्रेसमा त्यसलाई बुझ्ने मान्छे पनि छ्रैन ।
बिपीको विचार के हो ? बिपीको व्यक्तित्व के हो ? बिपीले गरेका योगदान के–के हुन् ? काँग्रेसमा यतिबेला समग्र रुपमा बुझ्ने मान्छे छैनन् । कम्युनिस्टले आफ्नो अनुकूल माक्सवादी दृष्टिकोणमा बिपीलाई बुझेका छन् । काँग्रेसले सत्तामा पुग्ने भर्याङका रुपमा बिपीलाई बुझेको छ ।
अहिले राजावादी र विगतका पञ्चहरुले पनि बिपी कै सिद्धान्त ठीक छन् भनेर उनीहरुले पनि बिपीमै आफ्नो भविष्य देखेका छन् । त्यसैले बिपीलाई बुझ्ने कुरामा एउटा झन्झट आइलागेको छ । काँग्रेसले आफ्नो सुविधा भोगी राजनीतिका लागि बिपीलाई हतियार बनाएको बेला सबैले बिपीलाई आलु बनाएका छन् । मुल तरकारी बिपी हुनुभएको छैन । सबैलाई चाहिने तरकारीमा मिसाउने आलु हुनुभएको छ ।
काँग्रेसभित्र बिपी हराएको धेरै वर्ष भइसक्यो । २०३९ सालसम्मको इतिहास एउटा थियो । बिपीको संसार र आजको संसार धेरै फरक छ । राजनीतिक मुलभूत चरित्र र राजनीतिको नैतिक चरित्र सधैभरी रहन्छ । त्यसमा काँग्रेस चुकेको देख्छु म । काँग्रेसले बिपीलाई फोटोमा चिनेको छ तर विचारमा चिनेको छैन, मूल्यपद्धतिमा चिनेको छैन । तर अहिले जुमले गर्दा काँग्रेसमा विचार विमर्श सुरु भएको छ । काँग्रेसमा वैचारिक पक्ष मुखतिर भएर आएको छ ।
पुरोषत्तम दाहाल : राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार
विचार भनेको गतिशील र विकाशील हुन्छ । बिपीले जुन समयमा जुन समयलाई हेरर विचार प्रस्तुत गर्नुभयो, त्यसको विकसित रुप समाज पनि धेरै अगाडि बढिसकेको छ । संसारको अवस्था पनि धेरै फरक भएर गइराखेको छ । क्षेत्रीय सन्तुलन पनि फरक भएर भइरहेको छ ।
मुखले सबैले बिपी कोइरालाको विरासत अगाडि बढाउने भनिरहेकै अवस्था छ । हामी उहाँकै अनुसार गर्छौँ, उहाँकै अनुसार जान्छौँ भनेर भनेको सुन्छु । तर उहाँका सिद्धान्त अनुसार व्यवहारमा जाने कुरा फरक देखिन्छ । बिपी कोइरालाले सिद्धान्त मात्र सिकाउनु भएको छैन, सिद्धान्तसँग संस्कृति पनि सँगै जानुपर्छ भन्ने उहाँको मान्यता छ । जस्तो राजनीतिक संस्कृतिको कुरामा उहाँले मूल्यवादी राजनीतिको कुरा गर्नुभएको छ र लोकतान्त्रिक मूल्यसहितको मौलिक हक, मानवअधिकारका कुरालाई अगाडि सार्नुभएको छ ।
त्यसअनुसार हामी जान सकिराखेका छौ कि छैनौँ ? प्रश्न त्यो हो । दोस्रो कुरा– उहाँले नेपालमा पहिलोचोटी राष्ट्र र राष्ट्रियताको परिभाषा गर्नुभयो । त्यसलाई हामीले अहिले कुन रुपमा ग्रहण गरिरहेका छौँ । कसरी सम्प्रेषण गरिरहेका छौँ भन्ने एउटा पाटो छ । बिपीले नेपालको सन्दर्भमा समाजवादको पहिलो भाष्य प्रयोग गर्नुभयो । आर्थिक सामाजिक रुपान्तरणको विषय बस्तुलाई उठान् गर्नुभयो ।
सामाजिक रुपमा समावेशीताको कुरा, शोषणरहित समाजको कुरा, हुने खाने र हुुँदा खानेहरुबीचको दुरी घटाउने कुरा लिएर समन्वयका साथ अगाडि बढ्नुपर्छ भन्ने मान्यता अगाडि सार्नुभयो । सबैभन्दा ठूलो कुरा छुवाछुतको अन्त्य हुनुपर्छ भन्ने मान्यता अगाडि सार्नुभयो । धर्मका नाममा कुनै पनि ढंगको विभेद हुनुहुँदैन, कुनै राजनीति र सिद्धान्तका नाममा विभेद हुनुहँदैन भनेर उहाँले परिभाषित हुनुभयो । हामी आज त्यी व्यवहारमा कति खरो उत्रेका छौँ ? त्यो लिगेसी निरन्तरता कति छ त्यो सोच्नुपर्छ ?
बिपी कोइरालाको विचार भनेको नेपाली काँग्रेसले मात्रै लिएर जानुपर्ने विचार हो ? के नेपाली काँग्रेस मात्रै त्यसको जिम्मेदार हो ? के बिपीले नेपाली काँग्रेसलाई मात्र केन्द्रमा राखेर आफ्ना विचार प्रस्तुत गर्नु हो ? होइन भने सबै नेपालीले त्यो विचारको अनुसरण गर्नुपर्छ कि पर्दैन ? शोषण र छुवाछुत नेपाली काँग्रेसमा मात्र गर्न हुँदैन भन्या हो ? के काँग्रेसका मान्छेले मात्र राष्ट्रियता जोगाउनुपर्छ भन्या हो ? लोकतन्त्र भनेका के काँग्रेसका लागि मात्र बिपीले भन्नु भएको हो ? कि सम्पूर्ण जनताका लागि भन्नुभएको हो ? त्यस हिसाबले यस्ता खालाका विचारलाई समग्र राष्ट्रले अनुभव र प्रतिनिधित्व गर्नुपर्छ र त्यसको लिगेसीको निरन्तरता हुनुपर्छ भन्ने मेरो तर्क हो ।
नेपाली काँग्रेस एउटा औजार मात्र हो । नेपाली काँग्रेसमा कुनै जीवन छैन । नेपाली काँग्रेस भनेको एउटा संस्था हो । त्यसमा कुनै स्पन्धन हुँदैन । त्यहाँ मान्छे जोडिएपछि जीवन पाएजस्तो हुन्छ । यथार्थमा काँग्रेस विचार कार्यान्वयन गर्ने एउटा वैधानिक संयन्त्र मात्र हो । नेपाली काँग्रेसमा आबद्ध हुने सबै सदस्यले बिपी कोइरालाको विचारको कति प्रतिनिधित्व गर्नुहुन्छ भन्ने कुरा हो । मेरो बुझाइमा नेपाली काँग्रेसमा विचारका लागि भाषण त पुरानादेखि नयाँ सबैले गर्नुहुन्छ । तर व्यवहारमा उहाँहरुले यसलाई प्रतिनिधित्व गर्नुभाको देखिँदैन ।
युग पाठक : राजनीतिक विश्लेषक
बिपी कोइरालाले त्यतिबेला राजनीति संगठित गरिरहँदा र नेपाली काँग्रेसको त्यतिबेलाको प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक खाका गरिरहँदा मुलभूत रुपमा राणा शासनबाट देशलाई कसरी मुक्त गर्ने भन्ने महत्वपूर्ण एजेण्डा थियो । संसारै भरी साम्राज्यवादको अन्त्य भइ विभिन्न मुलुक स्वतन्त्र भइरहेको बेलामा एउटा लोकतान्त्रिक राजनीतिक प्रणाली अन्तर्गत बिपी कोइरालाको त्यो बेलाको सैद्धान्तिक, दार्शनिक पृष्ठभूमि निर्माण भएको देखिन्छ । तर उहाँले त्यो चिजको थप विकास गर्न सक्नुभएन, पाउनु भएन ।
बिपी कोइरालाले धेरै काम गर्न नपाइ ०७ सालदेखि १७ साल राजनीतिक उचारचढाबमा मुलुक गुज्रिएको र लोकतन्त्रितिर जाने कि राणा शासनबाट फुत्केको शासन शाह वंशको हातमा रहने भन्ने संघर्षमा १० वर्ष बितेको देखिन्छ ।
एक÷ढेड वर्ष उहाँ प्रधानमन्त्री भएर काम गर्न खोजे पनि कू हुँदा फेरि बिपीले त्यही लोकतन्त्रका लागि लड्नुपरेको देखिन्छ । लोकन्तत्र भनेको के हो ? त्यसका विभिन्न संस्थाले कसरी काम गर्छ ? त्यसको आर्थिक ढाँचा कस्ता हुनुपर्ने ? त्यसको सामाजिक ढाँचा कस्तो हुनुपर्ने ? त्यसले शिक्षा प्रणालीमा कसरी काम गर्ने ? लगायतका अनेक चिजलाई स्पस्टसँग फुकाएर बिपी कोइरालाले व्याख्या गर्न पाउनुभएको देखिँदैन । त्यसरी ब्याख्या गर्न आवश्यक पनि ठानिएन त्यतिबेला ।
बिपी कोइरालाका विचारहरु फुट्कर रुपमा मात्र धेरै जस्तो आएको छ । व्यवस्थित ढंगले आएको छैन । बिपी कोइरालाले भनेको साङ्गोपाङ्गो कुरा यही हो भनेर हामीले थाहा पाउने केही पनि छैन । तर जे जति कुरा छ त्यसको विरासत अगाडि लिने काम नेपाली काँग्रेसले नै हो ।
बिपी कोइरालाबाट प्रभावित भएर त्यो पार्टीमा लाग्ने मान्छे अहिले पनि जिवित छन् । कोही नेतृत्वमै छ त कोही काँग्रेस हुँ भन्दै बसेको पाइन्छ । तर काँग्रेसले बिपीको कुन लिगेसीलाई अगाडि बढायो त भनेर हेर्दा जसरी बिपी कोइरालाले ब्याख्या गर्न नभ्याएको कुरा छ त्यसरी नै अस्पष्ट उहाँको विरासत छ ।
पश्चिमी मोडेलको लोकतन्त्रको फर्मुलाभित्र नेपाली काँग्रेस अगाडि बढाउन खोजेको देखिन्छ । नेपालभित्र लोकतन्तको अर्थ के हुनसक्छ भनेर नाभीमै पुगेर थप व्याख्या गर्ने काम कम भएको छ । थोरै भएपनि प्रदीप गिरीले गरिरहनुभएको देखिन्छ । समग्रमा त्यो काम भएको छैन । यस्तै बिपी कोइरालाले क्रान्तिकारी बिर्ता उन्मुलनको काम गर्न खोज्नुभएको देखिन्छ । तर काँग्रेसमा त्यो लिगेसीलाई कसैले पनि ध्यान दिएको वा महत्व दिएको आजसम्म देखिँदैन ।
यस्तै बिपी कोइरालाले उठाउनुभएको राष्ट्रियताको कुरा छ । जो दुई थरी कुरा छ । राष्ट्र र राष्ट्रियता भनेको भूमि होइन जनता हो भनेर व्याख्या गर्न खोजिएको छ । त्यो राजतन्त्रको काउन्टरमा लोकतन्त्रको परिभाषा स्थापित गर्ने उद्देश्यले गरिएको व्याख्या थियो भन्ने मेरो बुझाइ हो । किन पृथ्वीनारायण शाहाले एकीकरण गरेर देश बनाएको हो भन्ने व्याख्याको काउन्टरमा बिपी कोइरालाले लोकतन्त्र अनुकूल राष्ट्र भनेको जनता हो र जनताले अधिकारप्राप्त गरेपछि मात्र राष्ट्रियता हुन्छ भनेर व्याख्या गर्न खोजिएको देखिन्छ ।
अर्को कुरा राजासँग घाँटी जोडिएको छ भनेर मेलमिलाप नीति लिएर नेपाल आए भन्ने कुरालाई बढी फोकस गरिन्छ । सैद्धान्तिक भन्दा त्यो त्यतिबेलाको समय सापेक्ष कुरा हो । तर राष्ट्रियताको सन्दर्भमा पनि काँग्रेसभित्र बिपी कोइरालाको बुझाइलाई ठीकसँग बुझेर आजको सन्दर्भमा नयाँ व्याख्या गरेर अगाडी कसरी जाने भन्नेमा कन्फियुज देखिन्छ । रातोपाटी