रेड कर्नर सूचीकृत बमजन अमेरिकाबाट पोखरा आइपुगे, प्रहरी हेरेको हेर्‍यै

अर्थ/उद्योग उपभोक्ता समाचार

पोखरा । सूर्यदर्शन सहकारीको अर्बौं ठगी प्रकरणका फरार प्रतिवादी तथा संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनले कास्की जिल्ला अदालतमा आत्मसमर्पण गरे । आइतबार न्यायाधीश शंकरबहादुर राईको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका र इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी गरिएका बमजन अमेरिकाबाट नेपाल प्रवेश गरी पोखरा पुग्दासम्म प्रहरी प्रशासन भने बेखबर देखियो । घटनाले सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
अदालतमा दिएको बयानमा बमजनले आफू २०७१ सालदेखि अमेरिकामा बस्दै आएको र हाल आमाको हेरचाह गर्न नेपाल फर्किएको बताएका छन् । उनीसँग १८ वटा सवाल गरिएको थियो, जहाँ उनले तीन वटामा आफू अमेरिकामै रहेको बताएका थिए । तर, राहदानीसमेत ‘ब्लक’ गरिएको र रेड कर्नर नोटिसमा रहेका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सहजै बाहिरिए भन्ने विषयमा पीडितहरूले ‘उच्चस्तरीय राजनीतिक र प्रशासनिक संरक्षण’ रहेको आरोप लगाएका छन् ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘विमानस्थलमा झर्नेबित्तिकै पक्राउ पर्नुपर्ने व्यक्ति पोखरा आइपुग्दा पनि प्रहरीले थाहा नपाउनुले सेटिङको आशंकालाई बलियो बनाएको छ ।’
उनले बमजनलाई हिरासतमा राखेर अनुसन्धान गरेको भए मुख्य अभियुक्त गीतेन्द्रबाबु राई (जीबी) लाई पक्राउ गर्न सहयोग पुग्ने तर अदालतको आदेशले उन्मुक्तिको बाटो खोलेको गुनासो गरे ।

यता, कास्की प्रहरीले भने बमजन विमानस्थलबाट नभई भारतको बाटो हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ । ‘विमानस्थलबाट आएको भए पक्राउ परिहाल्नुहुन्थ्यो, अरू नै बाटो प्रयोग भएको हुन सक्छ,’ प्रहरीका एक अधिकारीले भने ।

बमजनको आत्मसमर्पण र बहसबारे जिल्ला सरकारी वकिलको कार्यालयलाई समेत औपचारिक जानकारी नदिइएको पाइएको छ । जिल्ला न्यायधिवक्ता कमला काफ्लेले कार्यालयलाई जानकारी नदिई बहस गराइएको बताइन्, यद्यपि अदालतको आदेशमा सहायक जिल्ला न्यायाधिवक्ता सुजाला पौडेलको उपस्थिति रहेको उल्लेख छ ।

Facebook Comments Box