पर्सा प्रहरीले खानेपानी मन्त्रीसँग चर्को स्वरमा कुरा गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। महिलाले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण गर्न नसकेको भन्दै मन्त्रीलाई प्रश्न गरेकी थिइन्। सामाजिक सञ्जालमा अडियो भाइरल भएपछि, खानेपानी मन्त्रालयको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्क्याएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत जानकारी गराउँदै वीरगञ्जमा फैलिएको हैजा किन नियन्त्रण गर्न नसकेको ? पानी परीक्षण नगरी किन वितरण गरेको लगायत प्रश्न गरेकी थिइन् । उनै साहलाई वीरगञ्जको मुर्लीबाट शनिबार पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार खानेपानीको सचिवालयले आज प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा साहलाई प्रहरीले नियन्त्रण लिएको हो ।
साहविरुद्ध साइबर अपराधअन्तर्गत उजुरी परेकाले सोधपुछ चलिरहेको उनले बताए ।
शुक्रबार राति सामाजिक सञ्जालमा एउटा अडियो भाइरल बन्यो, जहाँ खानेपानी मन्त्री यादव र साहबिच कुराकानी छ । उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् ।
उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ ।
खानेपानी मन्त्रीको फोन रिसिभ भएपछि उनले सुरुमै अपने फोन काहे नइखी उठावत ? (तपाइँले फोन किन रिसिभ गर्नुभएको छैन?) प्रश्न गरेकी छन् । त्यसपछि तपाइँ प्रदीपज्यू बोल्नु भएको हो भनेर तारन्तार प्रश्न गरेको सुनिन्छ ।
‘खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो ?’ उनले तारान्तार प्रश्न गर्छिन् । मन्त्री यादवले ‘हो’ भनेपछि साहको आक्रोशमिश्रित प्रश्नहरू सुरु हुन्छन् ।
उक्त अडियोमा सुनिन्छ– ‘वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन्, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् । म तपाईंलाई छोडदिनँ, डर लाग्दैन ।’
