काठमाडौँ, २१ मङ्सिरः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले दुग्ध प्रशोधन आयोजना, दुग्ध विकास संस्थान (डिडिसी), बालाजु औद्योगिक केन्द्र र लैनचौरको कार्यालयको आज अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले संस्थानको अवस्था, गुणस्तर, समस्या तथा चुनौती र स्थायी कर्मचारी तथा दैनिक ज्यालादारीमा कार्यरत मजदुरका समस्याबारे जानकारी लिनुभयो । मन्त्री डा परियारले संस्थानलाई व्यवस्थित, नाफामा लिन र चलायमान गराउनका लागि हरेक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने भन्दै दुग्ध उत्पादक किसान, आमउपभोक्ता र संस्थानको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री परियारले संस्थानका प्रबन्धक सन्जीव झासँग बालाजुलगायत संस्थानअन्तर्गतका सम्पूर्ण आयोजनामा चुहावट नियन्त्रण, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउन तथा दुग्ध उत्पादक किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो । उहाँले संस्थानको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउन र आन्तरिक समस्यालाई छलफलमार्पmत सुल्झाउन पनि निर्देशन दिनुभएको मन्त्री परिवारको सचिवालयले जनाएको छ ।
