काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवा निवृत्त श्रेष्ठलाई अघिल्लो सरकारले योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष श्रेष्ठसहित सदस्यमा प्राडा सुनीति श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउने तथा राजनीतिक दलसँगको वातावरणमा सौहाद्र्रता कायम गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो । समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको पनि सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।
सरकारी सेवा प्रवाहको कागजी प्रक्रियाका लागि हुलाक टिकट टाँस्ने प्रचलन सरकारले हटाएको छ । मन्त्रिपरिषद् बैठकले प्रचलित कानुनमा व्यवस्था भएकामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
सरकारले भारतीय मुद्रा सहज बनाउने निर्णय गरेको छ । ९ नोभेम्बर २०१६ देखि निष्कासन भएका २ सय र ५ सय दरका भारतीय नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म बोकेर नेपाल–भारत ओहोरदोहोर गर्नसक्ने व्यवस्था गरिएको पनि सरकारका प्रवक्ता खरेलले बताए ।
मधेशमा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा दुई मन्त्री थपिएका हुन् । सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार साँझ मुख्यमन्त्री यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृतिमन्त्री र तत्कालीन नेकपा माओवादी केन्द्रका जवाहरलाल कुश्वाहलाई ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णले बिनाविभागीय मन्त्रीका रूपमा रहेका कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तत्कालीन नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
