जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा

मुख्य समाचार राजनीति

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नसमेटेको भन्दै जेनजी अभियन्ताहरू सर्वपक्षीय र गैरदलीय नेतृत्वको सरकार गठनको प्रयासमा जुटेका छन् ।

जेनजी अभियानसँग जोडिएका विभिन्न समूहले थालेको यस प्रयासमा केही राजनीतिक दल र ‘नागरिक समाजका अगुवाहरू’समेत जोडिएर अभियानलाई मूर्त रूप दिन लागिपरेका छन् ।

कार्की नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न असफल भएको निष्कर्षसहित यो सरकार हटाएर नयाँ सरकार निर्माणको उद्देश्यसहित अभियन्ता मिराज ढुंगाना, विकेश साहसहितको समूहले त सोमबार (आज)बाट सडक आन्दोलनको घोषणा नै गरेको छ ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकार असफल, असक्षम रहेको निष्कर्षसहित जेनजी अभयिन्ता, केही राजनीतिक दल र नागरिक अगुवासमेतको सक्रियतामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सरकारको नेतृत्वमा ल्याउने बहस र प्रयास पुनः सतहमा ल्याइएको छ । श्रेष्ठको नाममा सहमति जुट्न नसकेमा पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरादेखि वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसम्मलाई विकल्पका रूपमा अघि सार्ने गृहकार्य जारी छ ।

‘जेनजी आन्दोलनको जगमा सुशीला सरकार बन्यो तर यस सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्नमा असफल भयो, सय दिन त्यत्तिकै खेर गयो, संविधान संशोधन नगरी २०८४ सालमा गर्नुपर्ने निर्वाचन २०८२ सालमा गर्नका लागि जनविद्रोह भएको होइन, त्यसैले असफल, असक्षम सुशीला सरकार हटाउने र सर्वपक्षीय सरकार गठन गर्नु नै अहिलेको आवश्यकता हो, त्यसको नेतृत्व कल्याण श्रेष्ठसहितकाले गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘अरू पनि योग्य व्यक्ति हुनुहुन्छ, त्यस’boutमा छलफल हुँदैगर्छ तर पहिला यो सरकार हटनुपर्छ ।’

सुशीलाबाट पूर्वप्रधानन्यायाधीश श्रेष्ठ मात्रै नभई राजनीतिक दलहरूसमेत असन्तुष्ट छन् । राजनीतिक दल, नागरिक समाज, जेनजीसहितको अर्को सर्वपक्षीय सरकारले मात्रै संविधान संशोधनदेखि जेनजीको माग सम्बोधन र निर्वाचन गराउनसक्ने दाबी गरिएको छ ।

जेनजीहरूलाई अघि सारेर सुरु गरिएको यो नयाँ राजनीतिक कोर्सअन्तर्गत नै कांग्रेस र एमालेले सरकारलाई थप दबाब दिन विघठित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित संसद् पुनःस्थापनाका लागि पूरक निवेदन लिएर सर्वोच्च अदालत जाँदै छन् ।

जेनजी अभियन्ता र केही नागरिक अभियन्ता जेनजी अभियन्तालाई नजिकबाट सघाइरहेका र सरकारका हरेक गतिविधिमा हस्तक्षेप बढाइरहेका सुदन गुरुङलाई समेत कार्की सरकारविरुद्ध उभ्याउन सफल भइसकेका छन् । कार्की सरकार अपदस्थ गर्ने अभियानअनुसार नै गुरुङले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल र मन्त्रीका स्वकीय सचिव धीरज जोशीविरुद्ध सार्वजनिक अभिव्यक्ति नै दिए ।

तीनै जनाको फोन नम्बरसमेत सार्वजनिक गर्दै गुरुङले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौता कार्यान्वयन नभएमा फोन गरेर दबाब दिन आह्वान नै गरेका छन् । गुरुङ पछिल्ला दिन गृहमन्त्रीविरुद्ध एकपछि अर्को आक्रोश व्यक्त गरिरहेका छन् ।

कार्की नेतृत्वको सरकारले गरेका पछिल्ला सबै राजनीतिक नियुक्ति विवादित बनेको, परिवारका सदस्य र आफन्तलाई मात्र प्रधानमन्त्री र मन्त्रीले च्यापेको, जेनजीका मागमा बेवास्ता गर्दै राजनीतिक दलका एजेन्डाअनुसार निर्वाचनको मात्र रटान गरेको भन्दै जेनजी अभियन्ताहरू सरकारको विकल्प खोज्ने निष्कर्षमा पुगेका हुन् ।

‘हो, हामी अब सुशीला कार्कीको निरन्तरताको पक्षमा छैनौं, उनले मार्गप्रशस्त गरेपछि विवादरहित व्यक्तिलाई अघि सारेर सर्वपक्षीय सहमतिसमेत गरी जेनजीका माग पूरा गर्ने प्रतिबद्धतासहितको नयाँ सरकार गठनको छलफलमा छौं,’ एक जेनजी अभियन्ताले राजधानीसँग भने, ‘यसमा दलका युवा पुस्तादेखि नागरिक अगुवाहरूले हामीलाई प्रस्तावित व्यक्ति र एजेन्डाका विषयमा समेत परामर्श दिइरहनुभएको छ ।’

आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने दाबी गरे । जेनजीको माग पूरा गर्न असफल, असक्षम सरकारले जेनजीको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै सडकबाटै सुशीला सरकारलाई फाल्ने चेतावनीसमेत उनले दिए ।

जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । सुशीला नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै ढुंगानाले भने, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न सकेन, २०८४ सालको निर्वाचन २०८२ सालमा सार्न आन्दोलन भएको थिएन, यस सरकारले निकास दिने काम गरेको देखिँदैन, सुशीला किन निर्वाचनको रट लगाउनुहुन्छ ?’ उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने आशंका व्यक्त गरे ।

सोही कार्यक्रममा जेनजी अभियन्ता एवं कमन जेनजीका अध्यक्ष विकेश साहले अहिलेको व्यवस्थामा केही पनि सुधार नगरिएको बताउँदै यही अवस्थामा निर्वाचनको रटान लगाउनु बेकार भएको टिप्पणी गरे । जेनजी विद्रोह एक थान निर्वाचन गराउनका लागि मात्रै नभएको बताउँदै सुशीला नेतृत्वको असफल, असक्षम सरकारको कुनै आवश्यकता नभएको बताए ।

पत्रकार सम्मेलनमा देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरिएको छ । अहिलेको व्यवस्थामा परिवर्तन, जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग उनीहरूको छ । विकास र निकासका लागि सर्वपक्षीय सरकार नै अहिलेको आवश्यकता भएको जेनजी अगुवाहरूले जनाएका छन् ।

Facebook Comments Box