
इमानको राजनीति गर्दै आउनु भएका झनक प्याकुरेल राष्टिय राजनीतिमा चिरपरिचित नाम हो । नुवाकोटलाई राजनीतिक कर्म थलो बनाउँदै आउनु भएका प्याकुरेल राप्रपाको केन्द्रीय सहमहामन्त्री हुनुहुन्छ । सधै राजसंस्था र हिन्दु राज्य हुनुपर्छ भनेर सव्रिmय रहनु भएका प्याकुरेललाई राप्रपाले यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा उम्मेदवार बनाएको छ । सधै सत्य र निष्ठाको राजनीति गर्दै आउनु भएका प्याकुरेल केही समय राप्रपा (संयुक्त)को प्रशिक्षण विभाग प्रमुख हुनुभयो । केहि समय नुवाकोट जिल्ला विकास समितिको सभापति हुनुभयो । केही समय दुग्ध विकास संस्थानको संचालक समितिको सदस्य हुनुभयो । केही समय सेतिदेवी माध्यामिक विद्यालयको संचालक समितिको अध्यक्ष हुनुभयो । यसका अलावा उहाँ विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुभयो । प्रस्तुत छ राप्रपा उम्मेदवार झनक प्याकुरेलसँग गरिएको कुराकानीः
यस पटक राप्रपाले तपाईलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा उम्मेदवार उठाएको छ, तपाई कस्तो लागि रहेछ ?
अप्रत्याशित रुपमा निर्वाचन घोषणा भयो । र अहिले देशव्यापी रुपमा चुनावी महोल छ । तर नेपाली जनताले चाहेर अप्रत्याशित निर्वाचन भएको होइन । संघीय गणतान्त्रिक व्यवस्थाले डेलिभरि दिन नसकेको एवं व्याप्त कुशासनको परिणाम स्वरुप मुलुकले, जनताले मध्यावधी निर्वाचन व्यहोर्न वाध्य भएका हुन् । तसर्थ यहि मध्यावधि निर्वाचन मात्र यो मुलुकको विभिन्न खाले निकास भने होइन । यदि राजसंस्थावादी शक्तिले जितिएन भने निर्वाचनपछि मुलुक झन आर्थिक र भुराजनीतिक संकटमा जाने निश्चित छ । राप्रपा एउटा प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित दल भएको नाताले निर्वाचनबाट पछि हट्न राम्रो होइन भन्ने लागेर नै जनताको अभिमत लिनको लागि राप्रपा निर्वाचनमा सहभागी भएको हो । यो निर्वाचनमा राप्रपाको घोषित एजेण्डा स्पष्ट स्थीर भएकोले नै आम मतदाताको रोजाई राप्रपाको चुनाव चिन्ह हलोमा हुनेछ भन्ने मैले विश्वास लिएको छु । अहिले मुलुक स्पष्ट दुई धारमा विभाजित छ, एउटा संघीय लोकतान्त्रिक गणतन्त्र मान्ने धार र अर्को हामीले लिएको संवैधानिक राजसंस्था र हिन्दुराज्य मान्ने एवं संघीयता खारेज हुनुपर्छ भन्ने धार छ । त्यसैले वैचारिक हिसाबले हामी अत्यन्त बलियो छौ । यो राष्ट्रवादी धारलाई जनताले सफल र अनुमोदन गर्छन भन्ने हाम्रो विश्वास छ ।
नुवाकोट क्षेत्र नं. २ मा तपाईको स्थिति के छ ?
नुवाकोट जिल्लामा १७०१ देखि पृथ्वी नारायण शाहबाट एकिकरण भए पश्चात चौविस वर्ष सिङ्को मुलुकको राजधानी बनाइएको हो । त्यसैले यहाँ शाह वर्षिय राजाहरुको योगदानलाई उच्च मुल्याङ्गन गरिन्छ । हामीले निरन्तरण रुपमा पृथ्वी पथलाई मानिआएका छौ । र त्यसैलाई मानिरहने अंगाल्ने राजनीतिक शक्ति भएकोले जनआकर्षण यस पार्टीप्रति देखिनु स्वभाविक छ । स्मरणीय कुरा राप्रपाप्रति जनताको आकर्षण हुनुको मुल कारण यहि हो । यसको अलावा पनि राप्रपाले उठाउदै आएको देश र जनताको सवालमा नेपाली जनताको आकर्षण देखिदै आएको छ । राप्रपा सत्य र इमानमा राजनीति गर्ने शक्ति भएकोले राजसंस्थावादी र हिन्दुवादी मतलाई हलो चिन्हमा रुपान्तरण गर्न हामी क्रियाशिल छौ । यहि आधारबाट हाम्रो विजय पक्का छ ।
यस क्षेत्रमा राप्रपाको संगठन कस्तो छ ?
राप्रपा आफैमा विशाल संगठन भएको पार्टी हो । जिल्ला देखि वडातहसम्मै हाम्रो संगठन छ । राप्रपालाई होच्याउनलाई यस जिल्लामा राप्रपाको संगठन खस्केको भन्ने होलान् । तर राप्रपाको एजेण्डामा राप्रपा पार्टीमा मत सतप्रतिशत बढ्दै गएको छ । जनताले यस झनक प्याकुरेललाई जिताउछु भनिरहेको अवस्था छ । नुवाकोटमा मात्र हैन देशैभर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने समय आएको छ । म समस्त मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो । राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो पार्टी हुने उदेश्यका साथ चुनावी मैदानमा छौ । हलोप्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रो एजेण्डा स्थापित हुनेछ ।
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालई आउला नि ?
अवस्य आउछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौ । हाम्रो पहिलो भरोस हिन्दु नै हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ । यहि बेला हिन्दु धर्म मान्ने र राजसंस्था मान्नेले शक्ति प्रदर्शन गर्नुपर्छ ।
अन्तमा तपाईका मतदातालाई सन्देश दिनुस न ?
जनतालाई हरेक कारणले गणतन्त्रप्रति वितृष्णा छ, त्यसैले यस पटक विकासवादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । नुवाकोट क्षेत्र नंं २ मा पनि हाम्रो एजेण्डा अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई मनदेखिको मत दिनु होला । मलाई अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यस्तो मौका पटक–पटक आउदैन । यो मौका छ, अवसर छ, राप्रपालाई जिताउनु होला ।
