डा. रुइतलाई जनसेवा श्री प्रथम, नेपाल रत्न कसैले पाएन

खवर पाटी (खोज खबरको अभियान)

३ असोज, काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको थियो ।

तर यस वर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्न पाउने व्यक्तिको नाम छैन ।

सरकारले यस वर्षको संविधान दिवसको दिन वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । हजारौं नेपालीको आँखाको ज्योती फर्काएका डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटसमेत सम्मानित भएका थिए ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई ‘दृश्यका देवता’ (गड अफ साइट) उपमा दिने गरिएको छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

पत्रकारलाई पनि विभूषण

यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।

कीर्तिमय राष्ट्रद्वीप चतुर्थबाट ८ जना पत्रकारहरु सम्मानित हुने भएका छन् । सम्मानित हुनेहरुमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, राजेश कुमार अर्याल, गोविन्द प्रसाद भण्डारी, शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छाविन्दु तुलाधर र चिरञ्जीवी मास्के छन् ।

यसैगरी सुर्खेतका सूर्यमणी गौतम, गुल्मीका मोहन बस्नेत, सुनसरीका लिलाराज खनाल, दाङका सविन प्रियासन चौधरी, बागलुङका हरिनारायण गौतम र रुकुमकी टिका विष्टलाई जनसेवा श्री पञ्चम पाएका छन् ।

जनसेवा श्री पञ्चम पाउनेको सूचीमा सञ्चारकर्मीद्वय तेजदत्त खकुराल (धादिङ) र कृष्णचन्द्र लामिछाने (पर्सा)को नाम पनि छ

Facebook Comments Box