डमरु बनाएर रक्तचन्दन तस्करी, चार जना पक्राउ

खवर पाटी (खोज खबरको अभियान)

६ असोज, काठमाडौं । डमरु बनाएर रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली खुलेको हो ।

महाशाखाका एक अधिकृतका अनुसार बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनसहित चार जना पक्राउ परेका छन् । तर, उनीहरुले डमरुमा रक्तचन्दन हाल्ने जिम्मेवारी मात्रै पाएका थिए । मुख्य व्यक्ति हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

बरामद १६ किलो ४ ग्राम सय ग्राम र ५ किलो ९ सय ग्रामको रक्तचन्दन भने जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको छ । पक्राउ परेका व्यक्तिका अनुसार बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ हो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रक्तचन्दन भारतबाट आएको हुनसक्ने देखिएको छ । नेपालमा तयार पारेर यसलाई तेस्रो मुलुक लैजान खोजिएको हुनसक्ने देखिएको छ ।

Facebook Comments Box