सञ्जयले क्यान्सरको उपचारसँगै पृथ्वीराजको छायांकन सम्पन्न गर्ने

खवर पाटी (खोज खबरको अभियान)

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त अहिले पनि मुम्बईमै क्यान्सरको उपचार गरिरहेका छन् । उनलाई फोक्सोमा क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सरका कारण उनी केमोसँगै रेडियो थेरापीको उपचार गरिरहेका छन् ।

आफ्नो उपचारको क्रम मुम्बईमा जारी रहँदा रोकिएको फिल्मको छायांकन पनि सक्ने भएका छन् । उपचारसँगै आफ्नो फिल्म शमशेराको छायांकन गरिरहेका सञ्जयले यो फिल्मको छायांकन केही दिनमै सम्पन्न गर्दै छन् ।

मुम्बईको बसाइमा आफूले अर्को फिल्म पृथ्वीराजको पनि छायांकन सम्पन्न गर्ने सञ्जयले बताएका छन् । यो फिल्ममा अक्षय कुमार र सञ्जयको मुख्य भूमिका रहेको छ । आफू अझै उपचारको क्रममा केही समय मुम्बईमै रहने भन्दै फिल्मको सुटिङ तयारी गर्न सञ्जयले निर्माण टिमलाई अनुरोध गरिरहेका छन् । अभिनेता अक्षय कुमार अहिले अर्कै फिल्मको छायांकनमा छन् ।

अभिनेत सञ्जयले फिल्म पृथ्वीराजको यसअघि नै आधाभन्दा बढी छायांकन सम्पन्न गरिसकेका छन् । यो फिल्मलाई आफू कुनै पनि अवस्थामा सम्पन्न गर्ने उनले बताएका छन् । सञ्जयले समय दिएको अवस्थामा उनको स्वास्थ्य अवस्थालाई पूर्ण मध्यनजर राख्दै एक सातामा सञ्जयको छायांकन सम्पन्न गर्ने निर्माण पक्षको भनाइ छ । यो फिल्ममा सञ्जयसँगै अक्षय कुमार, पूर्व मिस वल्र्ड मानुषी छिल्लरलगायतको मुख्य भूमिका छ । यो भारतका पूर्वराजा पृथ्वीराज चौहनाको संघर्षको कथामा आधारित फिल्म रहेको छ ।  एजेन्सी

Facebook Comments Box