काठमाडाैं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर ग्रुप माथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ ।
शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको हो ।
–सरकारका तीन निकायको एकैपटक छानबिन
–अकुत सम्पति खोजिँदै
–कालोबजारी धन्दाउस्तै
–एकपछि अर्को फ्रड धन्दा
–सबै सञ्चालकलाई बयानमा बोलाइने
शंकर ग्रुपका विभिन्न कम्पनीले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ती कम्पनीमाथि छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपका केही कम्पनीमाथि छानबिन थाल्दा राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागमार्फत छानबिनलाई अघि बढाइएको जनाएको छ । शंकर ग्रु्पद्वारा उत्पादित जगदम्बा ब्रान्डका डन्डी गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डी बिक्री वितरणमा पूर्णतः रोक लगाएको छ । शंकर ग्रुपले बजारमा पठाएको करोडांै मूल्यबराबरको सो डन्डी फिर्ता गरी नष्ट गर्नसमेत विभागले निर्देशन दिइसकेको छ ।
यसैगरी विभिन्न उत्पादनमा कालोबजारी गरी सर्वसाधारणलाई ठगी गर्दै अकुत सम्पति कमाएको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि ग्रुप सम्बद्ध विभिन्न कम्पनीको कागजबारेमा गम्भीर छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार ग्रुप सम्बद्ध कम्पनीले एकपछि अर्को फ्रड धन्दा सञ्चालन गरेको पाइएको छ । कोरोना महामारीको समयमा बजारमा थर्मल गनको कालोबजारी गर्दा गर्दै पक्राउ परेका कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत केही समय नियन्त्रणमा लिएर छोडेको थियो । अदालतको धरौटीमा रिहा भएका उनीमाथिको मुद्दा विचाराधीन अवस्थामा नै छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले आफूहरूले शंकर ग्रुपुका कम्पनीको कालोबजारीबाट आर्जन गरेको सम्पतिबारे छानबिन गरिरहँदा अर्को ठगी काण्ड पुष्टि हुनुले आफूहरूलाई अझै गम्भीर बनाएको बताए । ‘धेरै फ्रड पुष्टि हँुदै जान थालेका छन्, त्यसैले अनुसन्धानलाई अझै व्यापक बनाएका छौं,’ भट्टराईले राजधानीसँग भने ।
शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीको सम्पति र सम्पतिको स्रोतबारे सम्पति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । सम्पति छानबिन गर्ने क्रममा शंकर ग्रुपले राजस्वसमेत छली गरेको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले राजस्व छलीमा कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचारसमेत गरेको छ ।
विभागले शंकर ग्रुपका सबै कम्पनीको जायजेथा सम्पति विवरणसमेत संकलन गरिरहेको छ । प्राप्त कागजातका आधारमा शंकर ग्रुपका एकपछि अर्को फ्रड धन्दा उजागर हुँदै जान थालेको विभाग स्रोतले जानकारी दिएको छ । विभागका अनुसार सबै सम्पति तथा जायजेथाको विवरण संकलन गरेपछि ग्रुपका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सञ्चालकलाई बयानका लागि बोलाइने विभागले जनाएको छ ।
फ्रड मनी खोज्न विशेष अनुसन्धान संयन्त्र
सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपद्वारा सञ्चालित विभिन्न कम्पनीले फ्रड धन्दा र कालोबजारीबाट आर्जन गरेको सम्पति खोज्न विशेष अनुसन्धान संयन्त्र बनाउने भएको छ । ‘कसरी फ्रड गरेर अकुत सम्पति आर्जन गरेको छ त्यसको छानबिनका लागि उच्चस्तरीय अनुसन्धान संयन्त्र बनाएर छानबिन गर्छौं,’ विभागका एक अनुसन्धान अधिकृतले भने । सम्पति शुद्धीकरण अनुसन्धान विभागले कसैको दबाबमा नपरी शंकर ग्रुपले फ्रड गरेर आर्जन गरेको सम्पतिको खोजी गर्न विशेष अनुसन्धान संयन्त्र बनाउने भएको हो । ‘फ्रड गरेर कमाएको सो सम्पति जफत गरेर राष्ट्रिय ढुकुटीमा ल्याएरै छोड्छांै,’ विभागका एक अधिकारीले भने । राजधानी