काठमाडौं । सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले टर्मिनल भवनको नयााँ डिजाइनसमेत सार्वजनिक गरेका छन् । दोस्रो टर्मिनल भवनको अब ठेक्का प्रक्रियास“गै निर्माण कार्य सुरु हुनेछ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि आगामी वर्ष तयारी अवस्थामा रहने गरी निर्माण कार्य भइरहेको छ । कुनै रोकतोक नभएमा आगामी वर्ष विमानस्थल तयारी अवस्थामा रहनेछ ।
–रानीपोखरीको पुननिर्माण सकियो
–धरहराको १४ तला ढलान सम्पन्न
–आगामी वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार
–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९२ प्रतिशत भौतिक प्रगति
–विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु
रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् भने एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा १४ भवन संरचना बनेर फिनिसिङको चरणमा पुगेका छन् ।
केही समयअघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको अवलोकन तथा अनुगमन गरेका थिए । सो क्रमा उनले राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका थिए ।
राष्ट्रिय गौरवको आयोजनाभित्र पर्नेे यो विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ । सन् २०२१ को जुलाईसम्ममा सक्ने योजनासहित ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले काम गरिरहेको छ । विमास्थल निर्माण कार्य कोरोना महामारीकैबीचमा पनि सुचारु राखिँदै आएको छ ।
२०३२ सालमै ३ हजार १ सय ५० रोपनी अधिग्रहण गरिएको जग्गा विस्तार गर्दै २०७३ साउनबाट राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुरु भएको हो ।
विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न कार्य रोकिँदै आए पनि भौतिक पूर्वाधार तथा विकासका काम सुचारु राखिँदै आएका छन् । यस बीचमा पनि सीमित जनशक्ति र स्वास्थ्य सावधानी अपनाउँदै काम भइरहेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक बाटो निर्माण तथा पुल निर्माणको काम पनि कोरोनाबीचमा अघि बढिरहेका छन् । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ भने धरहरा पुनर्निर्माणको काम धमाधम बढिरहेको छ ।