कर्णाली प्रदेशका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीको छलफल, बैठकमा ‘प्रचण्ड’ अनुपस्थित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा अनुपस्थित रहनुभयो ।
तीन दिन अघि काठमाडौं आइपुग्नुभएका पदाधिकारीहरुसँग व्यस्तताकाबीच प्रधानमन्त्री ओलीले शनिबार छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ देखि अध्यक्षसँग पदाधिकारीहरुको छलफल भएको हो” थापाले भन्नुभयो ।  छलफलको विस्तृत कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटार बैठकमा अनुपस्थित रहनुभयो । कर्णालीका पदाधिकारीहरुसँग संयुक्तरुपमा छलफल गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई बैठकका लागि खवर गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । संयुक्त बैठकमा आफू सहभागी नहुने खवर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाउनुभएको उहाँले जानकारी दिनुभयो ।
यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरिसक्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पार्टीकै सांसदहरुले दर्ता गर्नुभएपछि दुई पक्षबीच विवाद चर्केको थियो । सोही विवाद समाधान गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनुभएको थियो । कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।
सांसद यमलाल कँडेलले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताउनुभयो । प्रधानमन्त्रीसहित महासचिव विष्णुप्रसाद पौडेलसँग आज छलफल भएको उहाँले जानकारी दिनुभयो । पार्टीले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफूहरुले धारणा राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । धारणा राख्नेक्रम नसकिएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले पनि पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने आग्रह गर्नुभएको बुझिएको छ ।
यसैबीच असोज मसान्त भित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुङ्गो लगाउने समयसीमा घर्केको छ । सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएपछि अन्तरपार्टी निर्देशिकामा असोज मसान्तभित्र एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता दुई अध्यक्षले गर्नुभएको थियो । गत भदौ २९ गते पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर पार्टी निर्देशन जारी गर्दै सो प्रतिवद्धता गरिएको थियो ।
अपानीमा भनिएको छ, “एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने । केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने ।”

Facebook Comments Box