पछिल्लो कालखण्डका सबै भन्दा भारत बिरोधी भनेर भारतमा कहलिएका र नेपालमा राष्ट्रवादी भनेर कहलिएका प्रधानमन्त्री केपी शर्मा ओली । तर पछिल्लो पटक बुधबार राति भारतीय जासुस प्रमुखलाई गरेको न्यानो स्वागत त्यो पनि एक्लैले ? यसले नेपालको राजनीतिक सत्ताको क्षमता र कुटनीतिक मर्यादामाथि फेरी एक पटक प्रश्न उठेको छ ।
पहिला पहिला भारतीय गुप्तचरहरुले खुलेआम नेपालमा सत्ता हेरफेर मात्र हैन मन्त्रीहरु नियुक्तिमा समेत चासो दिने गरेको गुनासो हुने गर्दथ्यो । तर विवादीत छवि सुधार्ने प्रयास हो या बदलिदो रणनीति केही वर्ष यता भारतीयहरु यस मामलामा सामेल छैनन् भन्ने महसुस हुन थालेको थियो । त्यसमा पनि नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले राखेको अडान र पछिल्लो समय कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा नेपालले पनि बनाए पछि भारत क्रुद्ध भएको थियो । उसका प्रोपोगण्डा विंग्सहरुले नेपालको व्यग्य विरोध र सैन्य क्षमताबारे टिप्पणी पनि गरेका थिए ।
त्यसलै बेला वालुवाटारमा असार १४ गते पार्टी भित्रकै नेताहरुले भारतको ईशारामा आफूलाई हटाउन खोजेको टिप्पणी गरे प्रधानमन्त्री ओली थप भारत विरोधी देखिने र राष्ट्रवादी भएको र सत्तामा टिकिरहनु पर्ने कारण बताउन खोजेका थिए ।
तर समय वित्दै जाँदा कुटनीतिक मर्यादा बिपरीत छिमेकी मुलुकको गुप्तचर अधिकारीहरुसगँ एक्लै राति भेटवार्ता गर्नुले उनको राष्ट्रवादको छवि फेरी धुमिल हुन शुरु भएको छ । प्रधानमन्त्रीले के अरु कुनै मन्त्रीमाति भरोसा नगरेका हुन् ? के कुनै उच्च पदस्थ कर्मचारीमाथि विस्वास नगरेका हुन् ? परराष्ट्र मन्त्रालयमाथिको अविस्वास हो या के हो ? होला, यदी रअ प्रमुखले कुनै सन्देश नै लिएर आएका थिए भने पनि प्रधानमन्त्रीले त्यो सन्देश परराष्ट्र मन्त्रालय या अन्य अधिकारीहरु मार्फत लिन सक्थे । तर वालुवाटारमा एउटा भारतीय कर्मचारीसगँ सोझै आफैले त्यो पनि राति भेट गर्नुलाई नेपाली राजनीतिमा पुनः रहस्यमयताको खोजी शुरु भएको छ ।
यस अघि प्रचण्ड माधव समुहलाई भारतको ईशारामा चलेको जस्ता देखाउन खोज्ने प्रधानमन्त्री ओलीको भाषणहरुको कुनै अर्थ अब बाँकी रहला कि नरहला ? यस बीचमा भारतीय सेना प्रमुख मुकुन्द नरवाणे नेपाल आउनु पुर्व रक्षा मन्त्री ईश्वर पोखरेल समेत हटाएर त्यो मन्त्रालय समेत ओली स्वयंले लिएका छन् । यसलाई भारतीय सञ्चार माध्यमहरुमा भारत बिरोधी रक्षा मन्त्री हटाईएको भनेर विष्लेषण गरिएको छ ।
जे भए पनि १९५० को सन्धी पछि नेपालको मन्त्रीपरिषद्को बैठकमा समेत भारतीय राजदुत उपस्थित हुने प्रचलन शुरु गरेका त्यतिखेरका शासकहरुको विरासत भारतलाई रिझाउने र सत्तामा टिक्ने जुन थियो , त्यस्तो अवस्था नेपालमा फेरी नदोहोरियोस् । यो ओली या कुनै एक व्यक्तिको प्रश्न हैन, सिंगो देश, उसको स्वाभिमान र स्वतन्त्रताको प्रश्न महत्वपूर्ण हुन्छ । ओलीको यो व्यवहारले उनी सत्ताबाट हटाईन्छ कि भन्ने त्रासमा पुगेका हुन् ? या भारतसगँ सम्बन्ध सुधार्नका लागि उनले प्रयास गर्न थालेका हुन् ? जे भए पनि नेपालको विदेशनीति र व्यवहार यस्तै प्रकरणहरुका कारणले आलोचनामुक्त हुन सकेको छैन ।
अचम्म त के छ भने भारतीय प्रमुख जासुस रअका प्रमुख सामन्त गोयल चढेर आएको विमानलाई ७२ घण्टा सम्म विना शुल्क विमानस्थलमा राख्न अनुमति दिईएको थियो भने गोयलको पासपोर्ट स्क्यान समेत गरिएको थिएन ।
पाकिस्तान विखण्डन, सिक्किम विलय जस्ता विदेशी भूमिमा विद्रोह, विवाद सृजना गराउने र हस्तक्षेप गर्ने अुनभव लिईसकेको रअ त्स्तो निकाय हो जसले सन् १९७५ मा सिक्किम विलय पछि नेपालको तराई टुक्रयाएर भारतमा गाभ्ने प्रस्ताव गरेको थियो । यस्तो विवादीत संस्थाका प्रमुखलाई मध्यरातमा वालुवाटारमा भोज खुवाईदै गर्दा ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराको कुरा उठाए ? यो प्रश्नबारे वालुवाटार मौन छ । तर स्वयं नेकपा भित्र र प्रतिपक्षबाट समेत यो भेटघाटको गंभीर आलोचना शुरु भएको छ । मिरमिरे अनलाइनले आफ्नो सम्पादकीयमा भनेको छ ।
Facebook Comments Box