काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई या गाईको चित्र अंकित तस्बिर बोकेका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
मृत्यु भएका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई निकालेर नगर घुमाउँदा मृतात्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । तर, यसपालि पनि कोरोना संक्रमण जोखिम कायमै रहेका कारण जात्रा प्रभावित हुने देखिएको छ । यद्यपि गत वर्षभन्दा यसपालि केही बढी चहलपहल हुने देखिएको छ । अघिल्लो दिन निकालिने लाखे नाचमा पनि मानिसको चहलपहल बढी देखिएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन र विभिन्न स्थानीय तहले गाईजात्रा र त्यसपछि आउने विभिन्न जात्राका क्रममा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् । लकडाउन खुले लगत्तै फेरि कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहले आन्तरिक रूपमा सकेसम्म घरमै जात्रा मनाउन आग्रह गरेका छन् ।
घरबाहिर आएर भिडभाड गर्दै जात्रा मनाउनाले संक्रमणको खतरा बढ्ने संकेत गर्दै उनीहरूले सकेसम्म जात्रा मनाउँदा भिडभाड नगर्न सुझाव दिएका छन् ।
मान्छे मरेको घरबाट भने थोरै संख्यामा मान्छे निस्केर गाईजात्रा मनाउन हुने स्थानीय प्रशासनको भनाइ छ । गाईजात्रामा व्यांग्यात्मक प्रर्दशन, नाटक प्रर्दशन तथा लाखे नाच पनि देखाइने भए पनि यसपालि अत्यावश्यकबाहेकका अरू सबै प्रर्दशन नगरिने भएको छ ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।
जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाँटी, स्याउ, नास्पाती, काँक्रो आदि बाँड्ने गर्छन् ।
आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारजनलाई हँसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रूपमा पनि यसलाई लिने गरिन्छ । अपराह्नपछि ठाउँठाउँबाट लाखे नाच पनि देखाइन्छ ।
आफ्नो घरमा मात्र नभै, नगरका अन्य व्यक्तिका पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यो पर्वले दिएको धेरै संस्कृतिविद्हरु बताउँछन । काठमाडौंका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाईजात्राको चलन ल्याएको इतिहास छ ।
ललितपुरको पाटनसँगै अन्य सहर तथा काठमाडौंको वसन्तपुरसहित अन्य स्थानमा गाईजात्रा मनाइन्छ । त्यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच) प्रदर्शन गर्ने चलन छ । तर यस बर्ष कोरोना संक्रमण जोखिमका कारण प्रभावित हुने देखिन्छ । गाईजात्रा पर्व नेवार समुदायको बसोबास रहेका देशका अन्य जिल्लाहरुमा पनि मनाउने गरिन्छ ।
गाईजात्रा पर्वलाई लक्ष्य गरी हास्यव्यंग्य कलाकारले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक प्रस्तुति युट्युबलगायत अन्य सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिरहेका छन । छन् । उनीहरुले नाटक मार्फत देशको पछिल्लो अवस्थाप्रति तीखो व्यंग्य प्रहार गरेका छन ।