काठमाडौँ। राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ ।
आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।
नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।